‘पत्रकारिता निष्पक्ष र स्वतन्त्र हुनुपर्छ’

भरतपुर, १८ आश्विन । राजनीतिक, आर्थिक कारणले गर्दा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको अभ्यास कमजोर भएकोमा नागरिक समाजका अगुवाले टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बुधबार भरतपुरमा भएको मानवअधिकार संवद्र्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रमका वक्ताहरुले पत्रकारिता निष्पक्ष हुन नसकेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले आर्थिक र राजनीतिक प्रभावका कारण पत्रकारिता क्षेत्र व्यावसायिक हुनबाट चुकिरहेको बताए । ‘आर्थिक र राजनीतिक प्रभावले गर्दा पत्रकारिता स्वतन्त्र हुन सकेको छैन’, अध्यक्ष डा. अर्यालले भने, ‘पत्रकारले सत्यको खोजी गर्नुपर्नेमा मूल धर्मबाट विमुख भइरहेको छ ।’

पत्रकारसँग समाजको उच्च भरोसा र विश्वास रहेको उल्लेख गर्दै डा. अर्यालले तमाम बेथितिलाई सही ठाउँमा ल्याउन पहलकदमी चाल्ने पत्रकारिता अहिले निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताए ।

कार्यक्रममा बोल्दै उनले मानवअधिकारको संरक्षण, प्रवद्र्धन र संवद्र्धनमा पत्रकारको भूमिका मह¤वपूर्ण हुने भन्दै उनले मानवअधिकारको विषय बदलिँदो परिवेशसँग फरक–फरक रहेको बताए । राज्यपक्षले नागरिकको न्यूनतम मानवअधिकारको रक्षा गर्न नसकेको अवस्थामा सञ्चारक्षेत्रबाट नागरिकले अपेक्षा गरिरहेको उनको भनाइ छ । न्यायको पहुँचमा कमजोर मानिसहरु नरहेको भन्दै उनले आवाजविहीनको आवाज बनेर निरन्तर वकालत गर्नु पत्रकारको मुख्य जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले नागरिकको मौलिक हकअधिकार रक्षाका लागि राज्य नै पहिलो जिम्मेवार निकाय भएको बताए । राज्य अभिभावक भएकाले उसले नै नागरिकको रक्षा गर्नुपर्ने भन्दै उनले पत्रकारहरु कुनै राजनीतिक धारमा विभाजन हुँदा वास्तविक पीडितका आवाजहरु बाहिर आउन नसकेको बताए ।

चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष खगराज कँडेलले पत्रकारिताको राजनीतिक पक्षधरता समाजका लागि हानिकारक रहेको बताए । निष्पक्ष, निर्भीक र स्वतन्त्र भनिएको पत्रकारिता क्षेत्र नै राजनीतिक आस्थाका आधारमा देखा पर्ने गरेकोमा गुनासो गर्दै अध्यक्ष कँडेलले चौथो अङ्गको मह¤व र गरिमा जोगाउन आवश्यक रहेको बताए । नकारात्मक गतिविधिमा पत्रकारिता क्षेत्रले मह¤व दिएकोमा दुःखेसो गर्दै उनले समाज विकासको चरणमा मानिसको चेतना निर्माणका लागि सकारात्मक सन्देश दिनुको विकल्प नभएको बताए ।

मिडियाले सामाजिक, सांस्कृतिकसँगै आर्थिक अधिकारको क्षेत्रमा पनि पहल र वकालत गर्नुपर्ने उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष शिरीष पन्तले बताए ।

कार्यक्रममा अधिवक्ताहरु रमेश काफ्ले, मुकुन्द दाहाल, पवित्रा सुवेदी, पत्रकार मधुसूदन दवाडी, माइती नेपालका प्रमुख ईश्वर गिरी, एनजिओ फेडरेसनका केन्द्रीय सदस्य सुरेशकुमार अधिकारी, रामचन्द्र आचार्य, पत्रकार कृष्ण खनाललगायतले मानवअधिकार संवद्र्धनमा मिडियाको भूमिका विषयमा आफ्नो विचार राखेका थिए । कार्यक्रम इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ताजा समाचार