महानगरको बजार अनुगमन : चनौलीमा खसीको नाममा बाख्रीको मासु !

चनौली, १९ आश्विन । बाख्रीको मासुलाई खसीको मासु भनेर बेचेको आरोपमा भरतपुर महानगरपालिकाले चनौलीमा सञ्चालित मुस्कान मासु पसलका सञ्चालकलाई कारबाही गरेको छ ।

बिहीबार बजार अनुगमनमा जाँदा बाख्रीको मासुलाई खसीको मासु भनेर बेचेको पाइएपछि बेच्न बाँकी रहेको मासु जफत गरी नष्ट गर्नुका साथै पसलका सञ्चालकलाई कारबाही गरिएको भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण तथा शासकीय सुधार इकाइ शाखाका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिए । ‘बाख्रीलाई खसी भनेर बेच्नुका साथै छालामा पूजा सामग्रीमा प्रयोग हुने रंग (अखाद्य वस्तु) पनि प्रयोग गरेको पाइयो’, उनले भने, त्यसैले अन्दाजी १०÷१२ किलोजति मासु भरतपुरको २० नं वडा कार्यालय परिसरमा गाडेर नष्ट गरेका छौँ ।’ सम्बन्धित व्यवसायी, नगर प्रहरी, वडाअध्यक्षसहितका जनप्रतिनिधि, महानगरका कर्मचारी, कार्यपालिका सदस्य, खाद्य तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी, पत्रकारलगायतको उपस्थितिमा उक्त मासु नष्ट गरिएको उनले बताए ।

सेवाग्राहीलाई भ्रममा पारेर बाख्रीलाई खसी भन्दै बेचेको हुँदा कानुनअनुसारको कारबाही हुने उनले बताए । ‘हामीले शुक्रबार महानगरपालिकामा उपस्थित गराएर कारबाही गर्छौं’, उनले भने, ‘स्थानीय सरकारको नीति नियमअनुसारको कारबाही गर्छौं ।’ भरतपुर महानगरपालिका वडा नं–२० का अध्यक्ष मुक्तिप्रसाद घलेले आफ्नो वडाभित्र जुनसुकै व्यवसाय गर्नेहरुले पनि स्थानीय सरकार र सेवाग्राहीलाई झुक्याउने काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिए । ‘जुनसुकै व्यवसाय सञ्चालन गर्दा पनि सही तरिकाले सञ्चालन गर्नुहोला, होइन भने कानुनअनुसार कारबाही गर्नुपर्ने हाम्रो बाध्यता हुन आउँछ’, उनले भने, ‘राम्रोसँग भन्दाभन्दै पनि अटेर गरेको खण्डमा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।’

महानगरपालिकाले सबैजसो वडामा बेला–बेलामा यस्ता अनुगमन गरिरहने हो भने व्यापारीबाट उपभोक्तामाथि हुने खेलबाड कम हुने उनले बताए । ‘पालिकाले चाडबाडको बेलामा मात्र नभई जुनसुकै समयमा पनि अनुगमन गरिदिने हो भने बजारमा बेथिति बिस्तारै कम हुँदै जान्थ्यो’, उनले भने । मुस्कान मासु पसलले गल्ती गर्दा त्यसबाट आमउपभोक्ता जोखिममा पर्न सक्ने हुँदा हरेक वस्तु खरिद गर्दा राम्रोसँग ध्यान दिएरमात्रै खरिद गर्न पनि सेवाग्राहीलाई उनले आग्रह गरे । चनौली बजारको स्वीट एण्ड चाट हाउस भोजनालय पनि फोहोर तथा अव्यवस्थित भेटिएकोले त्यसलाई सुधार गर्न महानगरले निर्देशन दिएको छ । मिठाईहरुमा अखाद्य वस्तु (रंग)को प्रयोग भएको पाइएको अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेलले जानकारी दिए ।

भरतपुर महानगरपालिकाले बिहीबार कृष्णपुर, मंगलपुर, भीमनगर, चनौलीलगायतका बजारमा अनुमगन गरेको थियो । महानगरले किराना, मासु पसल, मार्ट तथा मिठाई पसललगायत खाद्यसँग सम्बन्धित पसलहरुमा अनुगमन गरेको थियो ।