कवाडी सामान निकासिमा कर उठाउने तयारीमा भरतपुर महानगर,बिरोधमा व्यवसायी

चितवन, २० आश्विन । भरतपुर महानगरपालिकाले सरसफाई तथा पुनः उपयोगी (कवाडी) बस्तुमा कर संकलनका लागि टेण्डर आब्हान गरेपछि व्यवसायीले विरोध जनाएका छन् ।

शनिवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुले दोहोरो कर लगाएको भन्दै विरोध जनाएका हुन् । संघका अध्यक्ष शंकरबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधान विपरित कर उठाउन लागेको भन्दै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताउनुभयो । ‘उहाँले भन्नुभयो,‘कर उठानका लागि महानगरपालिकाले बोलपत्र आब्हानको सूचना निकालेको छ,त्यस प्रकृयामा हाम्रो असहमती रहेको छ ।’ उहाँले महानगरपालिको टेण्डरको प्रकृया रोकेर स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गर्नुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले व्यवसायीसंग महानगरपालिकाले समन्वय नगरेको र छलफल समेत गर्न नमानेको गुनासो गर्नुभयो । व्यवसायीले गत विहिबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए । तर उपप्रमुख अधिकारीले व्यवसायीका कुरा नसुनेको उपाध्यक्ष पुरन मल्ल ठकुरीले बताउनुभयो । उहाँले यही अवस्थामा व्यवसाय संचालन गर्न नसकिने भन्दै आइतबारदेखि चरणबद्ध आन्दोलनमा जाने बताउनुभयो । उहाँले कवाडीजन्य बस्तु निकासी गर्दा ठाउँठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नु परेको गुनासो गर्नुभयो । नेपालको संविधानले कुनैपनि बस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको संघले जनाएको छ ।

भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाई तथा पुनः उपयोगी (कवाडी) बस्तुको व्यवसाय गर्दै आएका छन् । भरतपुर महानगरपालिका भदौ २४ गते कर संकलनका लागि दुई बर्षको ठेक्का आब्हान गरेको छ ।