भरतपुर भ्रमण वर्ष–२०२४ : मेघौली क्षेत्रमा कमजोर पर्यटकीय पूर्वाधार !

मेघौली

मेघौली, २३ आश्विन । भरतपुर महानगरपालिका यतिबेला भ्रमण वर्ष–२०२४ को तयारीमा जुटेको छ । कुनै समय चितवनको प्रमुख गन्तव्य रहेको मेघौलीको पर्यटकीय क्षेत्रबारे अहिले धेरै चर्चा गरिए पनि अन्य दिन सरोकारवालाले त्यति ध्यान दिएको पाइँदैन । प्राकृतिक सौन्दर्यले भरिएका यी पर्यटकीयस्थलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पनि आगमन राम्रै भए पनि सम्बन्धित निकायले भौतिक पूर्वाधारमा लगानी गर्न नसकेको गुनासो बढेको छ ।

उठाउन सक्ने मुख्य पूर्वाधार मेघौली विमानस्थल हो । तर, विगत केही वर्षदेखि मेघौली विमानस्थलमा नियमित हवाइसेवा सञ्चालनमा छैन, विमानस्थल अहिले गौचरणमा बदलिएको छ । जताततै घाँसले ढाकेको छ । २२ बिगाहा जग्गा अलपत्र छ । विमास्थलका संरचनाहरु पनि जीर्ण छन् । कुनै बेला विश्वस्तरमा नै चर्चामा रहेको टाइगर टप्स अहिले निकुञ्ज अवलोकन गर्ने पर्यटकको गन्तव्य मात्र बनेको छ । विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सिकार पारखी, जंगल पारखी, लोकप्रिय हस्तीहरु आउने टाइगर टप्स होटल अहिले सुनसान छ ।

रिसोर्टको संरचना भत्किँदै, बिग्रिँदै गइरहेका छन् । अहिले टाइगर टप्सको जीर्ण अस्थिपञ्जर पूर्वाधार भूतबङ्गलाजस्तो भएर बसेको छ, तर पनि नेपालको पहिलो जंगल सफारी होटल हेर्नका लागि भन्दै निकुञ्ज घुम्नेहरु आउने गरेको टाइगर टप्स होटलका प्रशासकीय प्रबन्धक रामसिंह गुरूङ बताउँछन् । ‘टाइगर टप्स सञ्चालन गर्न सकेको भए भ्रमण वर्षको रौनक अर्कै हुन्थ्यो’, उनले भने ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहँदा महानगरभित्रै बन्दै गरेको ‘मेघौली राइनो पार्क’ निर्माणमा ढिलाइ भएको छ । मेघौली पर्यटन विकास समितिका अध्यक्ष मोती भूषालले पार्क निर्माणले गति लिन नसकेको बताए । देशकै मध्य भागमा रहेको पर्यटकीय दृष्टिले मह¤वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको बेला राइनो पार्क सम्पन्न गर्न सकेको खण्डमा राम्रो हुने उनले बताए । उनले भने, ‘भ्रमण वर्षको अवसरमा हात्ती पोलो प्रतियोगिता तथा महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने योजना बनेको छ ।’

मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै सङ्ग्रहालय पनि बनाइएको छ, तर त्यति पर्यटक आउँदैनन् । कुमाल सङ्ग्रहालय, कुमाल होमस्टे, कल्चर हाउस, पर्यटन सूचना केन्द्रलगायत पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन्, तर अधुरा छन् । मेघौलीको पुरानो पर्यटकीय र आर्थिक माहोल अहिले लगभग शून्य अवस्थामा झरेको छ । केही होटलहरुले मात्रै मेघौलीमा पर्यटक पु¥याउँदै छन् ।

मेघौलीमा रहेको थारू होमस्टेमा पर्यटकले सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकारको घरकै खाना खान पाउँछन् । यहाँ आउने पर्यटक बस्नका लागि आठवटा होमस्टे सञ्चालन गरिएको छ । मेघौलीमा हाल सानो संख्यामा आन्तरिक पर्यटक आउँछन् तर उनीहरु रात बस्दैनन्, घुम्छन् र फर्किन्छन् । ठूला होटलमा बस्न महँगो छ । होमस्टे र अन्य साना होटल भए पनि तिनले बजारीकरण गर्न सकेका छैनन् । यहाँ पुग्ने धेरैलाई त साना होटल छन् भन्ने पत्तो नै हुन्न । गोलाघाट क्षेत्रमा जाडो मौसममा पिकनिक खान आउनेहरु उल्लेख्य हुने मेघौली थारू होमस्टेका अध्यक्ष सोमलाल महतो बताउँछन् ।

गोलाघाटमा विशेष गरेर वाइल्डलाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जंगल र दुई नदीको संगम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्ती खोला मिसिएर अगाडि बढ्छन् र यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा पर्यटक आउने गर्दछन् ।

फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल चितवनको कुनै बस्ती छैन । एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमाल बताउँछन् । भ्रमण वर्षको अवसरमा गोलाघाटमा विशेष एकादशी मेला तथा अन्य धेरै कार्यक्रम गरिने उनले बताए । रामशरण गैरे/ चितवन पाेष्ट