कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो। जाडो याममा हामीले कफी अलि बढी नै पिउनेगर्छौं। हामी कसैको घरमा पाउन बनेर गयौं भने, सुरुमै सोधिन्छ, चिया पिउने कि कफी ? कफीमा ‘क्याफिन’ हुन्छ। क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क हुँदा फाइदा।
प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै यसमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्छ। मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ। जाडो मौसममा नियमित कफी पिउनाले शरीरमा गर्मीपन बढाउँछ। नियमित कफी सेवनले बोसो तथा मोटोपन घटाउन समेत कम गर्छ। कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई जोगाउन मद्दत गर्छ र हृदयरोग तथा क्यान्सरबाट पनि मानिसलाई सुरक्षित राख्न सहयोग गर्छ। शरीरका लागि एन्टिअक्सिडेन्ट फाइदाजनक कुरा हो । कफीमा प्राकृति रुपमै पाइने एन्टिअक्सिडेन्ट कतिपय मानिसले ट्याबलेटबाट पनि लिन्छन् । कालो कफी पिउनु स्वास्थ्यका हिसाबले उपयुक्त हो । कालो कफीलाई कलेजोका लागि राम्रो मानिन्छ । तर, दूधकफीले ग्यास्ट्रिक बढाउन मद्दत गर्छ, हार्ट बर्न र एसिडिटी बढाउँछ ।
यदि कफी सही तरिकाले खायो भने मुटुरोगीलाई फाइदा पुग्छ । कलेजोरोग र मधुमेहका बिरामीलाई पनि कफीबाट फाइदा पुग्छ । ठिक्क मात्रामा कफी पिउनाले हृदयघात, मस्तिष्कघात, मधुमेह र संक्रमणको जोखिम न्यून गराउँछ । रातिमा पढ्ने मानिसले निद्रा लागेका बेला कफी खायो भने निद्रा हराउँछ । एक अध्ययनले गर्भवती महिलाले भने दिनको २ सय मिलिग्रामभन्दा बढी क्याफिन पिउन नहुने देखाएको छ। कफी बढी सेवन गर्दा महिलामा गर्भपातको जोखिम बढ्नुका साथै कम तौल भएको बच्चा जन्मन सक्छ ।
कसैलाई बिहान खाली पेटमा कफी खाँदा फाइदा गर्न सक्छ भने कसैलाई ग्यास्टिकको समस्या हुन सक्छ । राति सुत्नुअघि कफी खानु त्यति राम्रो मानिँदैन, निद्रा नपर्न सक्छ ।
यस्तै, उच्च रक्तचाप भएका मानिसले पनि धेरै कफी पिउनु हुँदैन । हड्डी कमजोर भएका, निद्राको समस्या भएका, टाउको दुख्ने समस्या भएका, ग्यास्ट्रिक भएका मानिसले धेरै कफी पिउनु हुँदैन । त्यसेले बेफाइदा गर्छ । समग्रमा भन्नुपर्दा ठिक्क मात्रामा कफी पिउँदा शरीरलाई फाइदा गर्छ भने अधिक कफी पिउने बानीले स्वास्थ्यमा असर पार्न सक्छ ।