रिगलको कैद माफीको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौ, २५ आश्विन । ज्यान मुद्दाका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ । रिगल समेतको समूहले खुँडा प्रहार गरी मारेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा (मानन्धर)ले दायर गरेको रिटमाथि सर्वोच्चले बिहीबार दोस्रो सुनुवाइ गर्न लागेको हो । यसअघि गत बिहीबार (असोज १८ गते) प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले रिगललाई माफी दिने निर्णयमा गम्भीर चासो देखाएको थियो ।

असोज १८ गते, सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासमा भएको सुनुवाइमा कानुन व्यवसायीहरुले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिनसक्ने भन्ने प्रसंग उल्लेख गर्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि प्रश्न उठाएका थिए । गत बिहीबार भएको सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयसलाई गम्भीर रुपमा लिदै ८ बुदाँमा समग्र आदेश जारी गरेको थियो ।

सर्वोच्चले अदालतले सरकारसँग माफीको बारेमा निर्णय माग गर्नुका साथै राष्ट्रपति कार्यालयबाट सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो । सर्वोच्चले मुद्दालाई गम्भीरतापूर्वक लिँदै महान्यायाधिवक्ता दिनमणि पोखरेल आफैं उपस्थित भएर बहस गर्न भनेको थियो ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको फैसला नभएसम्म रिट निवेदक भारती शेर्पा मानन्धरको परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा आदेश दिएको थियो । रिगललाई दिइएको कैद माफीको विषय जटिल भएको उल्लेख गर्दै न्यायाधीश शर्माको इजलासले त्यसको कानुनी निरुपणलाई महत्त्वको विषयमा रुपमा उल्लेख गरेको छ । जसकारण उक्त रिटको सुनुवाइ अब संयुक्त इजलासमा नभइ पूर्ण (तीन वा तीनभन्दा बढी न्यायाधीश सम्मेलित) इजलासमा पेस गर्न भनेको थियो ।

सर्वोच्चले उक्त रिटलाई अग्राधिकार दिँदै सुनुवाइ हुने व्यवस्था गर्न र उक्त मितिमा आकस्मिक बिदा परेमा वा अन्य कुनै कारणले इजलास नलाग्ने भइ सुनुवाइ हुन नसकेमा सोको भोलिपल्ट सुनुवाइ गर्न समेत भनेको छ ।