अरोमा कलेजमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तीन महिना कैद

भरतपुर, २५ आश्विन ।  अरोमा कलेज भरतपुर–१०, बालमन्दिर रोडमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीमाथि बालयौन दुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षकलाई जिल्ला अदालत चितवनको बुधबारको आदेशले तीन महिना कैद सजाय हुने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले आरोपितलाई तीन महिना कैदका साथै २५ हजार जरिवाना, ५० हजार क्षतिपूर्ति भराउने फैसला र एक हजार पीडित राहत कोषमा जम्मा गर्ने भनी फैसला गरेको अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताए । शिक्षक सुवेदीविरूद्ध बालयौन दुव्र्यवहारका तीनवटा फरक–फरक मुद्दा दर्ता भएको थियो । जसमा उजुरी गर्नेहरु क्रमशः (नाम परिवर्तित) पटिहानी, हराभरा र डाँडागाउँ रहेका थिए । तीन उजुरीकर्तामध्ये हराभराको मुद्दामा अभियुक्तले सफाइ पाएका छन् । गत असोज १६ गतेको पेशीमा सफाइ दिइएको हो । तर, पटिहानी र डाँडागाउँको मुद्दामा भने समान सजाय तोकिएको अदालतले जनाएको छ । आरोपित शिक्षक यसअघि एक लाख ५० हजार रूपैयाँ धरौटीमा पुर्पक्ष आदेशमा छुटेका थिए ।

०७९ पुस ५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । कम्प्युटर ल्याबमा काम गर्ने शिक्षकले आफूहरुलाई यौन दुर्व्यवहार गर्ने गरेको भन्दै कलेजभित्र विद्यार्थीले पुस ५ गते मंगलबार नारा–जुलुस गरेका थिए । उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झ्यालका सिसाहरु फोडेका थिए ।