बागमतीका प्रदेश सांसद र स्वकीयहरूलाई ८५ लाख दसैँ भत्ता

बागमती । बागमती प्रदेशका सांसदहरूले एक महिना बराबरको दसैँ भत्ता पाएका छन् । शिक्षकहरूले तलब नपाइरहँदा बागमती प्रदेश संसद् सचिवालयले दसैँ भत्ताबापत सांसद् र उनीहरूका स्वकीयका लागि ८५ लाख रुपैयाँभन्दा बढी रकम उपलब्ध गराएको हो ।

सांसद र स्वकीयलाई ८५ लाख ११ हजार ५ सय ५० रुपैयाँ भत्ताबापत वितरण गरिएको सचिवालयले जानकारी दिएको छ । भत्ताबापतको रकम ९५ जना सांसदहरूलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरूलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ सम्बन्धित बैंक खातामार्फत दाखिला गरिएको बागमती प्रदेशसभा सचिवालयका लेखाअधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई भत्ताबापत १ लाख ७७ हजार र तीनका स्वकीयहरूलाई १ लाख १२ हजार २ सय २८ रुपैयाँ दसैँ खर्चबापत भत्ता वितरण गरिएको छ । प्रदेशका मुख्यमन्त्री एवं ११ जना मन्त्रीहरू र तीनका स्वकीय सचिवहरूको दसैँ भत्ता भने मुख्यमन्त्री कार्यालयबाटै जाने हुँदा प्रदेशसभामा तथ्यांक नहुने लेखा अधिकृत अधिकारीले जानकारी दिए । दसैँ भत्ताबापत सभामुखले ६१ हजार चार सय ५० रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताले ५८ हजार रुपैयाँ, सचेतकहरूले ५४ हजार पाँच सय २० रुपैयाँ र प्रदेशसभा सदस्यले ५२ हजार दुई सय रुपैयाँ दसैँ भत्ता लिएका छन् ।

बागमतीमा हालसम्म संसदीय समितिका सभापतिहरुको टुंगो नलागेको हुँदा सभापतित्व गर्ने ज्येष्ठ सदस्यहरूलाई सांसदकै तलब बराबरको भत्ता दिइएको संसद सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुखका स्वकीय सचिवले उपसचिव सरह ४० हजार तीन सय ८० रुपैयाँ, शाखा अधिकृत सरहले ३५ हजार ९ सय ९०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको स्वकीय सचिवले शाखा अधिकृत सरह ३५ हजार ९ सय ९० र बाँकी सांसदहरुको स्वकीय सचिवले नायव सुब्बा सरह ३४ हजार ७ सय ३० रुपैयाँ चाडपर्व भत्ता खर्च शीर्षकमा दसैँभत्ता बुझेका छन् ।