आजदेखि चितवन नारायणी महोत्सव सुरु हुँदै

चितवन, ६ मंसिर  । आजदेखि नारायणी नदी किनारमा चितवन नारायणी महोत्सव सुरु हुँदै छ । रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा मंसिर १६ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवको आज दिउँसो १२ बजे जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर महोत्सव आयोजना गरिएको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहेको उनले बताए । महोत्सवमा दैनिक ५ जना भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले जानकारी दिए । दैनिक पाँच हजार जनाले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव सम्पन्न गर्न ५७ लाख रूपैयाँ खर्च हुने अनुमान छ । रिकभरिङ युनाइटेडले हालसम्म एक हजार ५०० जना लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचार गरिसकेको छ ।

औद्योगिक शान्ति नेपालका महासचिव शंकर गुरुङले महोत्सव अवधिभर ५० भन्दा बढी कलाकारले प्रस्तुती दिने बताए । त्यस्तै, महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सी लगायतको स्टल रहने छन् भने निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम र अन्तर्राष्ट्रिय स्तरका बाल उद्यान रहने उनले जानकारी दिए ।