मेयर रेनु दाहाल र पत्रकार देउजाको तस्वीर तोडमोड गर्ने दुई जना पक्राउ

चितवन, ६ मंसिर  । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र कपुरबोट मिडियाका सञ्चालक सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जालमा राखी बदनाम गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनीहरु दुवै जनालाई गएराति घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी निकटका शर्माले दाहाल र देउजाको फोटो इडिट गरी सामाजिक सञ्जालमा फोटो अपलोड गरेका थिए भने उक्त फोटोलाई देवकोटाले शेयर गरेका थिए । पक्राउ परेकाहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मंगलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।