इजराइल र हमासबीच बन्दी छुटाउन सहमति, पहिलो चरणमा ५० जना छुट्ने

गजा । अन्तर्राष्ट्रिय समुदायको लगातारको दवाब र प्रयत्नपछि इजराइल र हमास गजामा बन्दी बनाइएका ५० भन्दा बढी महिला र बालबालिकालाई पहिलो चरणमा मुक्त गर्न सहमत भएका छन् ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार इजराइल र हमासबीचको सो सहमतिलाई इसराइली सरकारले अनुमोदन गरेको छ। यो अनुमोदनसँगै बन्दीहरु मुक्त हुने प्रक्रिया चाँडै सुरू हुनेछ।

सहमतिअनुसार हमासले यी बन्दीहरु मुक्त गरेवापत इजराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ।

अक्टोबर ७ (असोज २० गते) मा हमासले इजराइलमा आक्रमण गरी त्यहाँबाट२६ विदेशी मुलुकका नागरिक र इसराइली नगारिक गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो ।

अरु बन्दीहरु कहिले छाडिने भन्ने प्रष्ट नभएपनि पहिलो चरणका ५० बन्दी मुक्त भएपछि इजराइलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

हमासले सबै २३९ बन्दी मुक्त गरेवापत इजराइलले पनि आफ्नो हिरासतमा रहेका १५० जना प्यालेस्टिनियन नागरिकहरुलाई मुक्त गर्ने सहमति भएको जनाइएको छ। तर सो सहमतिबारे इजराइल सरकारले केही भनेको छैन।

हमासले बन्दी बनाएका आफन्तजनहरु चाँडै फर्केर आउने अपेक्षामा इजराइल र संसारका विभिन्न मुलुकमा परिवारहरु व्यग्र प्रतिक्षामा छन्। यी बन्दीहरु छुटाउन अमेरिका सहित हमाससँग राम्रो सम्वन्ध भएको कतारले पनि महत्वपुर्ण भूमिका खेलेका थिए।

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यसलाई हमास-इजराइल युद्ध अन्त्य भएको नठान्न भनेका छन्। ‘हामी युद्धमै छौं। हाम्रो उद्धेश्य पूरा नभएसम्म युद्ध जारी रहन्छ,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

अक्टोबर ७ को बिहानै प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजराइल माथि जमिन र आकाशबाट आक्रमण गरेका थिए । हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो ।

आक्रमणका दिन हमासले त्यहाँबाट इजरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेका थिए। बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन्।

त्यसयता इजराइलले गजामा हमासविरूद्ध लगातार आक्रमण गर्दै आइरहेको छ । उसले गजाबाट हमासलाई सखाप पार्ने घोषणा गर्दै आएको छ। इजराइलको आक्रमणबाट गजामा अहिलेसम्म १३ हजार ३ सय प्यालेस्टिनियन नागरिकहरूको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ।

ठूलो संख्यामा नागरिकहरू मारिएपछि गजामा युद्धविराम गर्न इजराइल माथि अन्तराष्ट्रिय शक्तिकेन्द्रहरूको दबाब बढिरहेको थियो। संयुक्त राष्ट्रसंघले पनि इजराइल लाई गजामा युद्धविराम गर्न आग्रह गरेको थियो । एजेन्सी