भद्रकाली दूध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत हुनुभएका उहाँले आफूलाई मात्रै नभएर अन्य किसानको समस्याका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको छ । थापा हाल नेपालका बजारमा बाहिरबाट दूध आएकाले यहाँको दूध बिक्रीमा समस्या भएपछि गाई घटाउँदै लग्नुपरेको गुनासो गर्नुहुन्छ। दैनिक तीन सय लिटर दूध उत्पादन हुँदै आएको उहाँको फार्ममा हाल गाई घटेसँगै उत्पादन पनि घटेको छ ।
थापा भन्नुहुन्छ, “भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन । डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन त्यही भएर गाई बेच्नु परेको हो ।” केही समय अघि मात्रै रु ७९ प्रतिलिटरमा बिक्री भएको दूध हाल रु ७० मा दिनुपरेको गुनासो गर्दै उहाँ भन्नुहुन्छ, “व्यापारीले दूध नलाने र सधैँ मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैरास्य भएर छाड्नुपर्ने स्थिति भयो । विगतका वर्षमा यस्तो समस्या थिएन ।”
किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानुपर्दैन । उत्पादनले मूल्य पाएमा यही जति पनि अवसर रहेको थापाको भनाइ छ । दूधै बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च राम्रैसँग चलाए पनि हाल दूध बिक्री नहुँदा अलि अलमलमा पर्नुभएका उहाँ भन्नुहुन्छ, “मुख्य बजारमा लैजादा दूध खरिदको मात्र घटेको छ । मैले बुझ्दा दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको छ ।” रासस