इच्छाकामना मन्दिर परिसरमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका केन्द्रिय सदस्य गुरुङले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रो काम गरेपनि निर्वाचनमा भने पार्टीले हार बेहोर्नु परेको बताउँदै खास कारणको पहिचान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
‘उपर्दाङगढीमा गएको थिए, चिनजानकै एक जना आमालाई भेटेर सोधे के छ आमा भन्दा ठिक छ पिच बाटो बनाइदिएको छ खानेपानी ल्याइदिएको छ सबै कुरा हामीलाई पुगेको छ भन्नुभयो, अनि भोट के मा हाल्ने आमा भनेर सोधेँ , घण्टीमा हाल्ने भन्नुभयो, गीता गुरुङ र कृतिकुमार गुरुङले यती राम्रो काम गरेको छ भन्नुको सट्टा भोट त घण्टीमा हाल्ने भन्छ’ –उहाँले भन्नुभयो ‘त्यसैले अब हामी त्यस ठाउँमा पुग्न जरुरी छ जनताको घरदैलोमा पुग्नु जरुरी छ, कारण के हो पत्ता लगाउन जरुरी छ, कमीकमजोरी भए सुधार गरेर एकता कायम गरेर अघि बढ्नुपर्छ ।’ उहाँले इच्छाकामनाको समग्र विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका चितवनका सभापति राजेश्वर खनालले जिल्ला कार्य समितिको घुम्ती बैठक अन्तरगत इच्छाकामनाबाट सुरुवात गरिएको बताउनुभयो । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना जिल्लाको अन्य स्थानिय तह भन्दा विकासका पुर्वाधारको हिसाबले पछि परेकोले यसलाई कसरी माथी उठाउन सकिन्छ भन्ने विषयमा यहाँका नेता कार्यकर्ताहरुबाट सुझाव लिन यहाँबाट बैठक सुरुवात गरेको बताउनुभयो ।
यहाँका पार्टीका नेता कार्यकर्ता तथा अग्रज व्यक्तित्वहरुले सुझाव र नयाँ दृष्टिकोण दिएकोे र त्यो सुझाव र दृष्टिकोणको आधारमा नेपाली कांग्रेस चितवनले नयाँ दृष्टिकोण तयार गर्ने बताउनुभयो । जसको आधारमा इच्छाकामनाको विकास,आर्थिक समृद्धि,यहाँको कृषि यहाँको पर्यटन, यहाँ रहेका धार्मिक मठमन्दिरहरुलाई पर्यटकीय रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने दृष्टिकोढण तयार पार्ने र सोही दृटिकेणको आधारमा नेपाली कांग्रेसले आगामी दिनमा आफ्नो कार्यक्रम अगाडी बढाउने बताउनुभयो ।
कार्यक्रममा गाउपालिका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, गाउँपालिका पूर्वउपाध्यक्ष तथा इच्छाकामनाका सभापती कृतिकुमार श्रेष्ठ र पूर्व महासमिति सदस्य राम बहादुर लामाले हाल भएका विकासका गतिविधि र इच्छाकामनाको समग्र विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका बारे बोल्नुभएको थियो ।
कार्यक्रममा उपसभापति सालिकराम शर्माले बैठकको एजेण्डा प्रश्तुत गर्नुभएको थियो । कार्यक्रम सचिव ध्रुवराज पोखरेलले संचालन गर्नुभएको थियो ।