युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरूका सनसनीपूर्ण तर, अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले पत्रकारहरूले गाली खाइरहेका हुन्छन् । संचार संस्थाका रूपमा दर्ता भएर पनि मिथ्या सूचना र अन्टसन्ट बोलिएका, लेखिएका सामग्री मासमा लगेको थाहा पाउनुभयो भने जरुर तपाईँले पत्रकारलाई गाली गर्न सक्नुहुन्छ । एउटा पक्षको प्रचार र अर्को पक्षको दुष्प्रचार गर्दै आफूलाई पत्रकार भन्नेलाई पनि तपाईँले गाली गर्न पाउनुहुन्छ । तर, दर्ताबिनै चलेका युट्युबका भिडियोमुनि पत्रकारलाई गाली गर्नु न्यायसङ्गत हुन्छ र ? सस्तिँदै गएको स्मार्टफोन र डाटाले इन्टरनेटमा आम मानिसको पहुँच बढ्दो छ ।
अब गाउँ–गाउँमा इन्टरनेट पुगेको छ । एउटा सामान्य मानिसलाई युट्युबमा जे देखाइन्छ, उसले सोहीअनुसारको धारणा बनाइरहेको अवस्था छ । नेपालमा विश्वसनीय च्यानलभन्दा बढी अरूका दुःख बेच्ने, झैझगडा देखाउने, विषय र प्रसङ्गलाई अतिरञ्जित गर्ने, परिआए प्रहरी, अख्तियार, अदालत सबै बनेर आतङ्क सिर्जना गर्ने खालका युट्युबतिर धेरै मानिस अलमलिइरहेको पाइन्छ । अत्यासलाग्दो कुरा त के भने, यस्तै च्यानल हेरेर हाम्रो समाजले धारणा बनाउन थालेको छ ।
युट्युबबाट पत्रकारिता हुनै सक्दैन भन्ने हुँदैन । पत्रकारले नै पनि युट्युब चलाएका छन् । मूलधारका कतिपय मिडियाले पनि युट्युबको प्लेटफर्म प्रयोग गरेको देखिन्छ । टेलिभिजन र अनलाइन पोर्टलका युट्युब च्यानलहरू छन् । युट्युबका सामग्री मासमा जान्छन्, त्यसैले यो आफैँमा मिडिया हो । तर, ती सामग्री पत्रकारिताका मापदण्डअनुरूप तयार गरिएका छन् कि छैनन् भन्ने कुरा प्रधान हो ।
को हो पत्रकार ?
अहिले को पत्रकार हो, को होइन भनेर दिउँसै ‘टर्च’ बाल्नुपर्ने बेला आएको छ । पत्रकारबाटै पत्रकारको खोजी हुन थालेको छ । पत्रकार हराएर होइन, नक्कली पत्रकारको बढ्दो सङ्ख्याले सक्कली पत्रकारहरू ‘गुमनाम’ भएर हो । यस्तो अवस्था आएपछि विगतदेखि नै पार्टी–आस्थाको निकटता, साथी–सङ्गी हुनु र विभिन्न लाभ लिनुको नाममा नक्कली पत्रकारलाई सदस्यता दिएर महासंघको राजनीतिमा स्थापित भएकाहरूकै ’बिपी’ ‘हाइ’ भएको छ । त्यही भएर होला, पत्रकारको आवरण र परिचयमा पाएसम्म राज्यका सबै सेवा–सुविधा, पद लिने, लिन चाहने र भ्याएसम्म महासंघ लगायत समाजका विभिन्न संस्थामा बसेर फरक–फरक ‘टोपी’ लगाए पनि पत्रकार नै भनेर चिनिन पाउनेहरूलाई नै ‘पत्रकार शुद्धीकरण’ को चिन्ताले बढी सताएको छ । केही समय अघि कुनै पालिकाको एउटा डाटा सामाजिक सञ्जालमा भाइरल भयो विषय थियो केन्द्रकै नाम चलेका पत्रकारहरूलाइ पेट्रोल पालिकाले नै दिएको । नक्कली पत्रकारले गर्दा सक्कली पत्रकारहरू देश छोडेर प्रदेशिनु परेको छ । त्यसो भए पत्रकार को त ? कलम र क्यामेरा बोकेर हिँड्ने पत्रकार हुन् ?
सैद्धान्तिक परिभाषाअनुसार पत्रकारिताको व्यावसायिक मूल्य–मान्यता जानी–बुझी त्यसको ख्याल गरी समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण (वितरण र प्रसारण) जस्ता चार वटै कार्यमा प्रत्यक्ष सहभागी वा सक्रिय हुने व्यक्तिलाई ‘पत्रकार’ भनिन्छ । अथवा पत्रकारिताका माध्यमबाट समाचार वा सूचना प्रवाह गराउने व्यक्ति नै ‘पत्रकार’ हो । यो भनिँदै आएको सामान्य बुझाइ हो ।
नेपाल पत्रकार महासङ्घको विधान–२०६०(पाँचौँ संशोधन २०७५) मा ‘छापा, प्रसारण तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आबद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन÷पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरा पर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकार’ सम्मलाई पत्रकार भनिएको छ ।
पत्रकार आचारसंहिता–२०७३(पहिलो संशोधन, २०७६) मा केही बढी व्याख्या गर्दै पत्रकारको परिभाषा दिइएको छ । त्यसमा भनिएको छ–‘सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरा पर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनुपर्दछ ।’
के युट्युबर पत्रकार हुन् ?
अहिले पत्रकारिता क्षेत्रमा जिउँदा जाग्दो एउटा प्रश्न उठेको छ– युट्युबकारिता पत्रकारिता हो कि होइन ? के मिडियाले पोस्ट गरेका सबै समाचार सत्य तथ्यमा आधारित हुन्छ वा हुँदैन ? यसको सामान्य जवाफ यस्तो हुन सक्ला– युट्युबहरू पनि पत्रकार हुन् तर सबै युट्युबहरू पत्रकार हैनन् । तर, आम मानिसले यो बुझेका हुँदैनन् कि भाइरल भनिएको ‘समाचार’ लेख्ने वा प्रस्तुत गर्ने मिडिया हाउसको सम्पादकीय नेतृत्व कस्तो छ ? कसको बाइ लाइनमा समाचार लेखिएको छ ? वा त्यो समाचार लेख्ने ‘पत्रकार’मा पत्रकारिताको सैद्धान्तिक ज्ञान कति छ ? यस्ता प्रश्न थाहा नभएका आम मानिस सूचना विभागमा दर्ता नै नभई, पत्रकारिताको सामान्य धर्म नै पूरा नगरी सञ्चालित युट्युबकारिता र अनलाइनबाट अहिले झुक्किरहेका छन् ।
नेपालमा डलर तान्न जस्तो सुकै हतकण्डा अपनाउने युट्युबरको बानी छ । भ्युजका आधारमा युट्युबरलाई पैसा आउने भएकाले उनीहरूले मनलाग्दी गर्ने गरेका छन् । यस्तै मनलाग्दी गर्न पत्रकारलाई छुट छैन । मूलधारका कतिपय मिडियाले पनि युट्युबको प्लेटफर्म प्रयोग गरेको देखिन्छ । टेलिभिजन र अनलाइन पोर्टलका युट्युब च्यानलहरू छन् । मूलधारे मिडियाका पत्रकार नपुगेका ठाउँमा गएर युट्युबरले सूचनाहरू सम्प्रेषण गरेका थुप्रै उदाहरण छन् ।
निष्कर्षमा भन्दा, युट्युबहरू पनि पत्रकार हुन् तर सबै युट्युबहरू पत्रकार हैनन् ।