असोज २५ गतेदेखि राखिएका क्यामेरा एक साताअघि निकालिएको हो । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम ९ताल०को सहयोगमा क्यामेरा ट्यापिङ्को काम गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मङ्सिर ५ गतेबाट वनमा राखिएका क्यामेरा निकाल्न थालिएको हो । उहाँका अनुसार क्यामेरा ट्यापिङ्को विधिबाट बाघको अवस्थाबारे जानकारी लिइएको छ ।
माडीको सोमेस्वर क्षेत्रबाट क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको थियो । यसका लागि ६२ क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरी बाघको अवस्थाबारे जानकारी लिइएको तिवारीले बताउनुभयो । तीन ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङ्को काम गरिएको उहाँले जानकारी दिनुभयो । “एउटा ब्लकमा १७ देखि २१ ग्रिड निर्माण गरी क्यामरा जडान गरिएको थियो । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिएको थियो । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड बनाएर क्यामेरा जडान गरिएको हो”, उहाँले भन्नुभयो ।
तिवारीका अनुसार क्यामेरा निकालेर अहिले अध्ययनको काम भइरहेको छ । अध्ययनका लागि प्राविधिक टोली खटिएको भन्दै उहाँले अहिले फोटो सङ्कलन तथा फोटोहरुको अवस्थाका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । फोटोमा देखिएका बाघको पाटाको आधारमा अवस्थाबारे अध्ययन गरिने छ”, उहाँले भन्नुभयो, “अबको एक महिनाभित्र सो क्षेत्रमा रहेका बाघको अवस्थाका बारेमा प्रतिवेदन तयार गर्नेछौँ ।”
टाइगर इकोलोजिकल मोनिटरिङ् अफ सोमेश्वर हिल कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाको अध्ययन गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीन वटा बाघ रहेकामा सन् २०२२ मा यो सङख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वत माला र भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययनका लागि क्यामेरा ट्यापिङ् गरिएको उहाँको भनाइ थियो । यसले बाघ संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने छ । रासस