काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरु पुग्ने गरेका छन् ।

काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो । अङ्ग्रेजीमा स्पाइनी ब्याब्लर भनिने यस चरा हेर्न विश्वका विभिन्न देशबाट पंक्षीप्रेमी पर्यटक नेपालमा आउने गर्छन् ।

बेलायतबाट चरा हेर्न उपरदाङगढी आउनुभएका माइक होइटले काँडेभ्याकुर हेर्न पाएर आफू उत्साहित भएको बताउनुभयो । वातावरणका क्षेत्रमा काम गर्दै आउनुभएका होइटले भन्नुभयो, “नेपालमा मात्रै पाइने चरा यस क्षेत्रमा प्रशस्तै देख्न पाइयो, अन्य चराको अवस्था पनि राम्रो छ ।” उहाँले आफू चरा हेर्नकै लागि नेपाल आएको बताउनुभयो ।

उहाँले चरा संरक्षणमा समुदायको प्रमुख दायित्व हुने बताउनुभयो । वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले चितवनको उपरदाङगडी काँडेभ्याकुरको बासस्थानको ‘हटस्पट’ भएको बताउनुभयो । “उपरपरदाङगढी प्रकृति प्रेमीका लागि उत्तमस्थल मानिन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउँदा काँडेभ्याकुर नदेखी फर्कनुपर्दैन ।”

गिरीले आफू २० वर्षदेखि काँडेभ्याकुर हेर्न र पर्यटकलाई देखाउन यहाँ आउने गरेको बताउनुभयो । यहाँ पहाडी क्षेत्रमा पाइने जनावरको पनि अवलोकन गर्न पाइने उहाँको भनाइ छ । उहाँले उपरदाङगढी क्षेत्रलाई ‘बर्ड सेन्चुरी’को रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय जैविक विविधतामा समस्या आउन थालेको भन्दैसंरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । उहाँले चराको बासस्थान मासिँदै गएकाले चरा संरक्षणका विषयमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यक औँल्याउनुभयो ।

खैरो जिउ, सादा रङका आँखा र धर्का भएको छाति हुने यो चरा निकै सुन्दर र आकर्षक हुन्छ । मध्यपहाडी इलाकामा बस्न रुचाउने काँडेभ्याकुर गर्मीयाममा एक हजारदेखि एक हजार पाँच सयसम्म दुई हजार एक सय मिटरको उचाइमा बिताउँछ । हिउँदमा भने पाँच सयदेखि एक हजार एक सय मिटरको उचाइसम्म बसाइँ सर्नेगर्छ  । चितवनमा भने चार सय मिटरको उचाइमा पनि बच्चा र अण्डासहित काँडेभ्याकुर देखिएको नेपाल पंक्षीविद् सङ्घ बागमती प्रदेश संयोजक बासु विडारीले जानकारी दिनुभयो । उहाँले नेपालमा काँडेभ्याकुरको सङ्ख्या यतिनै छ भन्ने उल्लेख नभएको बताउनुभयो ।

“नेपालबाट लोप हुनलागेका एक सय ६८ प्रकारका चरा छन्”, उहाँले भन्नुभयो, “त्यसमध्ये काँडेभ्याकुरको संरक्षण पहिलो प्राथमिकतामा पर्नुपर्छ ।” विडारीका अनुसार काँडेभ्याकुरलाई दुर्लभ तथा लोपहुने जोखिमयुक्त चराको सूचीमा राखिएको छ ।

जमिन नजिक वा बाक्लो झाडीको तल्लो भागमा बस्न रुचाउने यस चराको प्रमुख आहारा किरा तथा फट्याङ्ग्रा हुन् । मार्चदेखि अप्रिल यस चराको प्रजनन् समय हो । एक सिजनमा तीनदेखि पाँच वटासम्म अण्डा पारी कोरल्ने गर्छ । सामान्य बेला लजालु हुने र झाडीभित्र लुकेर बस्ने यसले प्रजनन्का बेला भने झाडीको बाहिरी हाँगामा बसेर आवाज निकाल्छ । एउटाले आवाज निकाल्यो भने अरुले पनि आवाज निकाल्न थाल्छन् ।

प्रजनन्को समयमा यो चराले धेरै आवाज निकाल्छ । यही समयमा यसले बढी चहलपहल गर्छ । झाडी तथा घाँसे मैदानमा बस्न रुचाउने यो चराले आफ्नो गुण गहिरो बनाएको हुन्छ । सन् १८३६ मा हग्डसनमा वैज्ञानिकले काँडेभ्याकुरको सम्बन्धमा अध्ययन अनुसन्धान सुरु गरेका थिए । अहिले पनि विभिन्न ठाउँमा यसको अध्ययन/अध्यापन र अनुसन्धान भइरहेका छन् ।

सन् १९५० तिर ठूलो सङ्ख्यामा देखिएको यो चराको सङ्ख्यामा हाल सङ्ख्या कम भएको छ । बढ्दो सहरीकरण, वनजङ्गल फँडानी र जथाभावी बनेका बाटाघाटाले यस चरालाई नकारात्मक असर पारेको विडारीको भनाइ छ । वनजङ्गलमा हुने आगलागी र चरा शिकार नियन्त्रण हुनुपर्ने उहाँको भनाइ छ । पर्यावरण र पर्यटन दुवैलाई उत्तिकै सहयोग पु¥याउने काँडेभ्याकुरबारे राम्रो अध्ययन गरेर स्थानीय बासिन्दालाई सचेत गराउनुपर्ने विडारीले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका वनमा चहारेर काँडेभ्याकुर हेर्न विदेशी पर्यटक आउनेक्रम बढेपछि गाउँपालिकाले यसको संरक्षणका लागि चासो देखाएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ‘इको टुरिजम’को विकास र संरक्षण आवश्यक रहेको बताउनुभयो ।

उहाँले गाउँपालिकाले पनि सक्रियाताका साथ काँडेभ्याकुरको संरक्षणका लागि स्कुल र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्ने बताउनुभयो । “बालबालिकालाई चरा मार्न नहुने, गुँडको संरक्षण गर्नुपर्नेलगायतका कुरा जानकारी गराउनेछौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “काँडेभ्याकुरको संरक्षण गर्न सक्यौँ भने भावी पुस्ताको लागि यो अध्ययनको क्षेत्र पनि बन्नसक्छ ।” रासस