सुन्तला प्रवर्द्धनका लागि इच्छाकामनामा “सुन्तला महोत्सव” हुँदै

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो क्षेत्रमा उत्पादित सुन्तलाको प्रवर्द्धन तथा विस्तारका लागि यही पुस महिनाको दोस्रो वा तेस्रो साता ३ देखि ५ दिनसम्म “सुन्तला महोत्सव” आयोजना गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार महोत्सवको मुख्य उद्देश्य सुन्तलाको प्रचारप्रसार र बजार विस्तार गर्नु हो । गाउँपालिकाको वडा नं ३ का माझगाउँ, सिरानगाउँ, तोक्दाङ, ढाप, डुडेललगायतका क्षेत्रमा ३०० भन्दा बढी बिघामा सुन्तला खेती हुँदै आएको छ।

महोत्सवको अवधिमा सुन्तला खान प्रतियोगिता, सस्तोमा सुन्तला बिक्री लगायतका कार्यक्रमहरू राखिनेछ। यसबाट सुन्तलाको माग बढाउन र किसानलाई प्रोत्साहन दिन मद्दत पुग्ने अध्यक्ष गुरुङले बताउनुभयो।

महोत्सवको तयारीका लागि सम्बन्धित किसानहरूसँग पनि छलफल भइरहेको र यसले सुन्तला खेतीलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।