इन्जिनियरिङमा ६५ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् ।

संस्थानका अनुसार आङ्गिकतर्फ पुल्चोक क्याम्पसमा कुल ६२४ सिटमध्ये ३० सिट मात्रै भर्ना गर्न बाँकी छ । यो क्याम्पसले इन्जिनियरिङका १६ वटा विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

थापाथली क्याम्पसमा ४३२ वटा सिटमध्ये १०८ वटा मात्रै रिक्त छन् । पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२ वटा सिटमध्ये ११७ वटा र धरानस्थित पूर्वाञ्चल क्याम्पसमा ५२८ वटा सिटमध्ये १०१ सिट रिक्त छन् ।

यी तीनै वटा क्याम्पसमा इन्जिनियरिङ विधा अन्तर्गत १४ वटा विषयको पढाइ सञ्चालन भइरहेको छ । संस्थानकै आङ्गिकमध्येका चितवन इन्जिनियरिङ क्याम्पसमा २४ वटा सिटमध्ये दुई वटा मात्रै रिक्त छ ।

सम्बन्धन प्राप्त क्याम्पसमध्ये सबैभन्दा धेरै विद्यार्थी नेसनल कलेज अफ इन्जिनियरिङमा सबै विषयमा गरेर २४० वटा विद्यार्थी सिट भर्ना क्षमता भएकोमा २०७ जना भर्ना भइसकेका छन् । सबैभन्दा थोरै विद्यार्थी जनकपुर इन्जिनियरिङ क्याम्पसमा भएका छन् । विभिन्न विषयका गरेर १९२ विद्यार्थी भर्ना क्षमता भएको यो क्याम्पसमा २१ जना मात्रै भर्ना भएका छन् । जुन कुल भर्ना क्षमताको ११ प्रतिशत मात्रै हो ।

अहिले आकर्षक विषयमा समेत विद्यार्थी भर्ना नभएर धेरै कोटा रिक्त रहेको चर्चा चल्ने गरेको छ तर विद्यार्थी भर्नाका क्रम अझै जारी रहेको हुनाले बजारमा हल्ला भए अनुसार विद्यार्थी कोटा रिक्त नभएको संस्थानका डिन प्राडा शशिधरराम जोशीले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

ताजा समाचार