संसदीय समितिमा मन्त्री किराँतीको अभिव्यक्तिको विरोध

काठमाडौं ।  संसदीय समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको विवादास्पद अभिव्यक्तिको विरोध भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीको ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो भन्दै विरोध गर्नेलाई हतकडी लगाउने’ विवादास्पद अभिव्यक्तिको विरोध भएको हो । सांसद धवलशमशेर राणाले मन्त्री किराँतीको विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए ।

सांसद राणाले मन्त्री किराँतीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने र सरकारले पनि स्पष्टीकरण सोध्नुपर्ने बताए । मन्त्री किराँती सहभागी बैठकमा सांसद राणाले भने, ‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो । सरकारले तपाईंलाई के स्पष्टिकरण गर्नुपर्ने हो यो गर्नुहोला ।’