कृषि क्षेत्रको विकासका लागि पोखरामा मेशिनरी प्रदर्शनी

पोखरा ।   ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारा सहित पुस २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा – २०८०’ हुने भएको छ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा, पोखरा महानगरपालिका, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा यो प्रदर्शनी हुन लागेको हो।
प्रदर्शनीमा ४० भन्दा बढी स्टलमा कृषिका विभिन्न विधाहरूजस्तै – कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाईभैंसीपालन, डेरी लगायतका नवीनतम औजार, उपकरण, मेसिन र प्रविधिहरू प्रदर्शन गरिनेछ।
यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउने र कृषकहरूलाई आधुनिक प्रविधिको अवलोकन एवम् जिज्ञासा मेट्ने अवसर प्रदान गर्ने आयोजकहरूले बताएका छन् । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।