नारायणीको पुलबाट हाम फालेर एक सातामा तीन जनाको मृत्यु

भरतपुर । चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउँसो परिचय नखुलेका अन्दाजी ५०/५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो ।

वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पुरुषको अझै पहिचान खुलेको छैन ।

यस्तै शुक्रबार दिउसो धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १० बस्दै आएकी ३१ वर्षीय संगिता शाहले पुलबाट हाम फालेकी थिइन । उनको पनि मृत्यु भएको छ । सोमबार बिहान पनि पहिचान नखुलेकी अन्दाजी ४० वर्षीय महिलाले पुलबाट हाम फाल्दा मृत्यु भएको थियो ।