लेखनाथ महोत्सवस्थलको गेट नजिकै बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु

पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । घटनामा परी दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्सवको गेट बाहिर फुटपाथमा व्यापार गर्न आएकी भारत घर भएकी इस्श्रावती कुमारी रहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ८ः५५ बजेको समयमा ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमला, बाटाको व्यापार गर्ने इस्श्रावती कुमारीसहित ३ जना घाइते भएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

गम्भिर घाइते इस्श्रावतीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचारको लागि लगिएकोमा १०ः३८ बजे मृत घोषणा गरेको हो । दुर्घटनामा परी तनहुँ म्याग्दे ८ का ३६ वर्षीय रामजी गन्धर्भ र पर्सा जिला दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् । उनीहरुको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता विकले जानकारी दिए । उनका अनुसार उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।

लेखनाथ महोत्सवको गेट बाहिर स्टल व्यापारी भन्दा धेरै फुटपाथ व्यापारी थुप्रिएर भीडभाड बढेपछि यसलाई हटाउन माग भएको थियो । तर, बाहिर फुटपाथ व्यापारी आन्दोलित भए । आयोजक लेखनाथ उद्योग वाणिज्य संघले पनि हटाउन सक्रियता देखाएन । अहिलेको मानवीय क्षति यही व्यवस्थापन गर्न नसकेर भएको स्थानीयको बुझाई छ ।

ताजा समाचार