पोखरामा पूर्वराजा वीरेन्द्रको जन्मजयन्ती मनाइयो

पोखरा । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको ७९ औं जन्मजयन्ती पोखरामा मनाइएको छ ।

पोखरा–१० वीरेन्द्र चोकमा गत ९ पुसमा पुनःस्थापित गरिएको राजा वीरेन्द्रको सालिकमा शनिबार माल्यार्पण र साँझ सोही स्थानमा दीप प्रज्जवलन गरेर उनको सम्झना गरिएको हो । सालिक निर्माण समिति अध्यक्ष मेजर गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा, स्थानीय अगुवा मनवीर गुरूङको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्था, मन्दिर व्यवस्थापन समिति, ज्येष्ठ नागरिकलगायतको उपस्थिति थियो ।

जन्मजयन्तीको अवसरमा कार्यक्रम गरिए पनि शिलालेख स्थापना र रंगरोगनपछि सालिक अनावरण गर्ने तयारी भइरहेको पुनःनिर्माण समिति सचिव अरुण गिरीले जानकारी दिए । ०५८ सालमा राजा वीरेन्द्रको हत्यापछि २०५९ सालमा राप्रपा नेता क्षेत्रबहादुर केसीले चोकमा सालिक राखेका थिए । त्यसपछि हालको पोखरा १०, १५ र १४ को संगम रहेको चोकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।

२०६१ सालमा केसी माओवादीबाट मारिए। उनको हत्याको दुई वर्षपछि माओवादीले आन्दोलनको क्रममा सालिक तोडफोड गरेका थिए । तोडफोड भएपछि मनवीर गुरुङको नेतृत्वमा सालिक पुनः स्थापना गर्न समिति बनेको थियो । त्यो समितिले काम गर्न सकेन । हालसालै गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा अर्को समिति बन्यो । यही समितिले १८ वर्षपछि वीरेन्द्रचोकमा चार दिनअघि शुभ साइत हेरेर राजा वीरेन्द्रको सालिक ठड्याएको हो ।

ताजा समाचार