चेपाङ बालबालिकालाई शैक्षिक सामग्री सहयोग

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं १० स्थित सिद्धि छात्रावासमा आश्रित चेपाङ बालबालिकाका लागि शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग गरिएको छ ।

साउथ एशिया पार्टनरशिप नेपाल (साप नेपाल) ले शिक्षाका लागि आवश्यक पर्ने स्टेशनरी, चामल सहित अन्य सामग्री प्रदान गरेको हो । साप नेपालका प्रादेशिक निर्देशक जनक कार्की, आर्थिक तथा प्रशासन अधिकृत रुक्मणी कार्की र सञ्चार अधिकृत अर्चना चौधरीले सो सामग्री हस्तान्तरण गरेका थिए ।

साप नेपालले सिद्धि छात्रावासमा वर्षेनि सहयोग गर्दै आएको छ । साप नेपालका प्रादेशिक निर्देशक कार्कीका अनुसार, चेपाङ बालबालिकाको आवश्यकता अनुसार शैक्षिक तथा खाद्यान्न सहयोग गर्दै आएका छन् । लामो समयदेखि चेपाङ महिलाहरूको नेतृत्व तथा क्षमता विकासको काम गरिरहेको साप नेपाल र डेक नेपालले परियोजना मार्फत सीमान्तकृत समुदायको उत्थानका लागि काम गरिरहेका छन् ।

कार्कीले चेपाङ बालबालिकाको प्राथमिक तथा उच्च शिक्षाका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । सिद्धि छात्रावासका संचालक भरत चेपाङका अनुसार, भौगोलिक विकटताका कारण शिक्षाबाट वञ्चित चेपाङ बालबालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गरिँदै आएको छ । साप नेपालले गर्ने वार्षिक सहयोगले बालबालिकाको शिक्षामा अतुलनीय योगदान गरेको उनको भनाई छ । सो छात्रावासमा ५४ जना बालबालिका आश्रित रहेका छन् ।