रत्ननगर महोत्सव : खगेरी खोलामा मोटरबोटको मज्जा

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको अबलोकनकर्ता खगरी खोलामा मोटरबोटको मज्जा लिन पाउने भएका छन् । नयाँ पर्यटकीय स्थलको पहिचान र सम्भाव्यता अध्यायनको लागि खगरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको हो । रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीन रुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भित्र्याउने लक्ष्य अनुसार महोत्सवको अबधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको सहकार्यमा सम्भाव्यता अध्ययनको लागि मोटरबोट सञ्चालनमा ल्याइएको संघका अध्यक्ष गिरीले जानकारी दिए । भरततालको जस्तै सम्भावना रत्ननगरमा पनि छ है भन्ने सन्देश दिएर नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महोत्सव अबधि भर मोटरबोट सञ्चालन गरिएको उनको भनाई छ । एचएस कम्पनीका दुई वटा मोटरबोट खगेरीमा चल्ने छ । २०० रुपैया तिरेर साढे दुई किलोमिटर मोटरबोटको आनन्द दिन सकिने कम्पनीका सञ्चालक हरि शर्माले जानकारी दिए ।

रत्ननगर उद्योग बाणिज्य संघका सदस्य नबराज तिमिल्सिनाले रत्ननगरमा मोटरबोट सञ्चालन गर्ने सम्भावना रहेको बताए । खगरी खोलाको किनारमा पार्क निर्माण गर्ने र खगरीमा मोटरबोट सञ्चालन गर्न सके सौराहामा आउने पर्यटकलाई यहाँ सम्म ल्याउन सकिने उनको भनाई छ । यस पटकको महोत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । पर्यटनको विकासको लागि नयाँ गन्तव्यको पहिचान र धार्मिक पर्यटनको विकासलाई जोड दिइएको महोत्सवमा कृषि क्षेत्रको विकासका लागि मकै बालीको संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक शंकर गिरीले जानकारी दिए ।

महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ । मकै एक परिकार र प्रयोग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारको उपयोग र मकैको बोट देखि अन्य सामाग्रीको प्रयोगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएको संघका उपाध्यक्ष तथा कृषि प्रवद्र्धन समितिका संयोजक हरि अधिकारीले जानकारी दिन । मकै बालीको संरक्षण र प्रवद्र्धनको लागि महोत्सव स्थलमा मकै वाली स्थापना तथा मकैको स्टाचु निर्माण गरिएको छ । महोत्सवमा रामपुर मकैबाली अनुसनधान केन्द्रबाट २० प्रजातीका मकैको वारेमा जानकारी गराइने छ । महोत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिने कृषि संयोजक अधिकारीले जानकारी दिए । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ ।

विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयाँ प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवालसंग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक संग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्वन्धी अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् ।