तोरी बालीमा झुसिल किराको प्रकोप देखिएपछि नवलपुरका किसान चिन्तित

नवलपुर  । नवलपुरमा तोरी बालीमा झुसिल किराको प्रकोप देखिएको छ । बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा झुसिल किराको प्रकोप बढी देखिएको छ । पाक्न ठिक्क परेको तोरी बाली झुसिल किराले सखाप पारेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

सर्दी क्षेत्रमा मात्रै करिब ५० बिगाहा क्षेत्रफलमा लगाएको तारी बाली झुसिल किराले सखाप पारेको स्थानीय अगुवा यादव पौडेलले जानकारी दिनुभयो । सर्दीका बालकृष्ण पौडेलको डेढ बिगाहा क्षेत्रफलमा लगाएको तोरी झुसिलकिराले सखाप पारेको गुनासो गर्नुभयो । ‘ाहामी किसानले केही गरेनी सुख नहुने भयो । यसपालि तोरी निकै राम्रो भएको थियो । तर कोसा जति सबै झुसिल किराले सखाप पारेर खाएको छ । यसपालि तोरी भित्राउन नपर्ला जस्तो छ ’ पौडेलले भन्नुभयो ।

अर्का किसान जयलाल खनालले पनि एक बिगाहा क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले खाएर सखाप पारेको गुनासो गर्नुभएको छ । एउटै बोटमा चारपाँच वटासम्म झुसिल किरा बसेर रातभरिमा सबै सखाप पार्ने गरेको उहाँले बताउनुभयो । यस्तै गरि पदम पंगेनीको एक बिगाहा , कृष्ण पंगेनीको पनि एक बिगाहा क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले सखाप पारेको गुनासो गर्नुभएको छ । ‘स्याहार्ने बेलामा तोरी जति सबै झुसिल किराले भ्यायो ,हामीलाई क्षतिपुर्ती कसले दिन्छ ? महँगो तेल किनेर खान पर्ने भयो । ’ पदम पंगेनले भन्नुभयो ।

यी किसान त प्रतिनिधि पत्र मात्रै हुन सर्दी क्षेत्रका सबैजसो किसानले लगाएको तोरीमा झुसिल किराको प्रकोप देखिएको स्थानीय अगुवा यादव पौडेलको भनाई छ । कृषि शाखामा सल्लाह गरेर किरा मार्ने विषादी राख्दा पनि किरा नमरेको पौडेलले बताउनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूल प्रसाद तिवारीका अनुसार यस वर्ष जिल्लाका विभिन्न ठाउँमा झुसिल किराको प्रकोप देखिएको छ । विषेश गरि तोरी बालीमा झुसिल किराले नोक्सान पुर्याएको गुनासो किसानहरूबाट आएको तिवारीले बताउनुभयो ।

बिनयी त्रिवेणीको सर्दी क्षेत्रमा झुसिल किराको प्रकोप अलि बढी देखिएको छ भने , जिल्लाको समथर भूभागमा पर्ने कावासोती , मध्यविन्दु , गैंडाकोट र देवचुली नगरपालिकामा पनि झुसिल किराको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । किराले पात समेत सखाप पारे खाएको छ भने , कोसामा समेत नोकसान पुर्याएको छ । गेडामा प्वाल पारेको तिवारीले बताउनुभयो । यस वर्ष हिउँदमा लामो समय खडेरी परेका कारण किराको प्रकोप देखिएको कार्यलय प्रमुख तिवारीको भनाइ छ । कृषिबालीमा विभिन्न प्रकारका रोग किरा देखिनुमा मुख्य कारण जलवायु परिवर्तन रहेको तिवारी बताउनुहुन्छ । यस वर्ष तोरी बाली राम्रो भएको थियो । उत्पादन राम्रो हुने अनुमान गरिएको थियो । तर पाक्ने बेलामा किराले नोक्सान पुर्याएको तिवारीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी विश्वास काफ्लेका अनुसार यसपलीको हिउँदे बालीमा झुसिलकिराको प्रकोप देखिएको बताउनुभयो । गुनासो आएपछि ज्ञान केन्द्रबाट अनुगमन समेत गरेर सुरक्षित सुरुमा इमामेक्टिन बेन्जोयट क्लोरोफाइरिफोस र साइपरमेथ्रिन नामक विषादी छर्न सुझाव दिएको जनकारी दिनुभयो । किराको प्रकोप अनुसार यस वर्ष तोरी बालीको उत्पादन अनुमानित रुपमा १० प्रतिशतले घट्न सक्ने काफ्लेको भनाई छ ।