बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा उच्च रक्तचाप मापन मेसिन सञ्चालन

हेटौंडा,३ माघ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वचालित उच्च रक्तचाप मापन मेसिन सञ्चालनमा ल्याएको छ ।

मंगलबार एक कार्यक्रमका बिच मन्त्रालयको प्रांगणमा उच्च रक्तचाप मापन मेसिन (अटोमेटिक डिजिटल बीमआई मेसिन) सञ्चालनमा ल्याइएको हो ।

आम नागरिकहरुमा सचेतना जगाउने उद्देश्य अनुरुप विश्व स्वास्थ्य संगठनको सहयोगमा अटोमेटिक डिजिटल ब्लडप्रेसर मापन मेसिन संचालनमा ल्याइएको हो । नेपालमा करिब ४७ लाख मानिसहरुमा उच्च रक्तचापको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये १० लाख मानिसले मात्र नियमित रुपमा उच्च रक्तचाप चेकजाँच गर्ने र अवस्थाको बारेमा जानकारी लिने गरेको मन्त्रालयले जनाएको छ । चेकजाँच गर्ने १० लाख मानिसहरु मध्ये ४ लाख मानिसले उच्च रक्तचापको औषधि सेवन गर्ने गरेको मन्त्रालयको तथ्यांक रहेको छ ।
औषधि सेवन गर्नेहरुमध्ये २ लाख जना मानिसमा उच्च रक्तचाप नियन्त्रणमा रहेको जनाइएको छ ।तथ्यांकका आधारमा उच्च रक्तचाप सम्बन्धी समस्या निकै जटिल चुनौतीको रुपमा देखापरेको स्वास्थ्य मन्त्री उत्तम जोशीले बताए । सो चुनौतीको व्यवस्थापनका लागि सरोकारवालाहरुको सक्रिय सहभागिता र योगदान आवश्यक रहेको उनले बताए । उच्च रक्तचाप सम्बन्धी समस्या समाधानका लागि मन्त्रालयले स्वास्थ्य शिक्षा तथा परामर्श बाट अस्वास्थ्यकर बानी व्यवहार जस्तै सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपान, निष्क्रिय जीवनशैली, अस्वास्थ्यकर खानपान आदि परिवर्तन गरी स्वास्थ्यकर जीवनशैली अपनाउनमा जनचेतना जगाउने सर्वसुलभ र सफल योजना रहेको उनको भनाई छ ।

मध्यम आय तथा विकशील राष्ट्रहरुमा उच्च रक्तचापका कारण हुने जटिलताहरु मानवीय क्षतिको मुख्य कारण बनिरहेको उनले बताए । उक्त रक्तचापका कारण मस्तिस्कघात, हृदयघात, मुटु तथा रक्तनली सम्बन्धी रोग, दीर्घ मिर्गौला रोगका कारण मानिसहरुको मृत्यु भइरहेको भन्दै उनले सो रोगहरुको व्यवस्थापनमा राज्यले ठुलो धनराशि खर्च गर्नुपरेको बताए ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालका अनुसार सरकारले नसर्ने रोगहरुबाट हुने मृत्युदर सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य अनुसार काम गरिरहेको र सो लक्ष्य प्राप्तिका लागि विभिन्न कार्ययोजना, रणनीति तथा कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि उच्च रक्तचापबाट हुने मृत्युदरको भार २५ प्रतिशतले घटाउन अनिवार्य रहेको छ ।

ताजा समाचार