रत्ननगर महोत्सवमा परम्परागत घरहरु प्रति दर्शकको आकर्षण

चितवन । चितवनको टिकौली चौरमा भइरहेको रत्ननगर महोत्सवमा परम्परागत शैलीमा निर्माण गरिएका घरहरु दर्शकहरुको रोजाइमा परेका छन् । महोत्सवमा आज मात्र १५ हजार भन्दा बढी दर्शकहरुले घरहरुको अवलोकन गरेका छन्।

थारु, गुरुङ, मगर र तामाङ जातिको संस्कृति झल्काउने चारवटा घर निर्माण गरिएका छन् । यी घरहरुमा परम्परागत रूपमा नेपाली समाजमा प्रयोग हुने हलो, जुवा, जातो, ढिकी लगायतका सामग्री प्रदर्शन गरिएका छन्। दर्शकहरु यी घरहरु हेर्न र फोटो खिच्न उत्साहित देखिएका छन्।

महोत्सवमा चितवनको कृषि र पर्यटनलाई जोड दिइएको छ। मकै बाली संरक्षण, केरा बगान, च्याउ खेती र माछा पालनलाई प्राथमिकता दिइएको छ। माघ ८ सम्म चल्ने महोत्सवमा ४५० भन्दा बढी स्टलहरु रहेका छन्। महोत्सवबाट २५ करोड भन्दा बढीको कारोबार हुने र तीन लाखभन्दा बढी दर्शक आकर्षित हुने अनुमान गरिएको छ।