खिचरा डान्स आइडलको फाइनलमा आठ जना छनौट

चितवन,३ माघ । नवौँ खिचरा महोत्सवमा आयोजना भएको डान्स आइडलमा आठ जना प्रतियोगीहरू फाइनलमा प्रवेश गरेका छन् ।

दोस्रो राउण्डमा प्रवेश गरेका प्रतियोगीहरू मध्ये फाइनलमा प्रवेश गर्नेहरू जेसिका चौधरी, किमस महतो, खुसी खरेल, सपुन सिरमल, लक्ष्मी सुनार, सुष्मिता गिरी, दीपिका गिरी, सरस्वती गिरी छनौट भएको डान्स आइडलका कार्यक्रम संयोजक हरिशरण चाैधरीले जानकारी दिनुभयो । डान्स आइडलको फाइनल माघ ६ गते हुने जनाइएको छ ।

फाइनलमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आजकाे राउण्डमा निर्णायकको भूमिकामा थारु कलाकार सभा चितवनका अध्यक्ष तथा निर्देशक सुरेश चौधरी, थारु कलाकार सभाका उपाध्यक्ष तथा निर्देशक हिरा चौधरी र मोडल मुस्कान चौधरी रहनु भएको थियो ।

भोलि माघ ४ गते चर्चित गायक कमल खत्री, गायिका मेलिना मैनाली, थारु कलाकार विश्व चौधरी तथा थारु सांस्कृतिक नाच गीत र यात्रा ब्यान्डको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक जयश चाैधरीले जानकारी दिनुभयो । महोत्सव खैरहनी -५, जबकाैली गाैचरनमा माघ १० गतेसम्म हुनेछ ।