छामछुमकै भरमा ‘सवारी पास’

काठमाडौं,४ माघ । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो ।

उनले भने, “भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मेसिन हो, जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ । यसबाट राम्ररी काम लिने हो भने सवारीसाधनको अवस्था बिग्रिएर हुने ८० प्रतिशत दुर्घटना चाहिँ रोक्न सकिन्छ ।” यातायात मन्त्रालय अन्तर्गतकै सवारी परीक्षण कार्यालय टेकु, इटहरी, हेटौँडा, बुटवल र कैलालीको अत्तरिया गरी पाँच स्थानमा मात्रै छन् । जनशक्ति र प्राविधिक जनशक्तिको अभावका कारण हरेक कार्यालयमा १५० देखि दुई सय वटा सवारीसाधनको मात्रै परीक्षण हुन्छ ।

सवारी परीक्षण कार्यालयले निजी सवारीसाधनको वर्षमा एक पटक र सार्वजनिक सवारीसाधनको छ महिनामा एक पटक परीक्षण गर्ने गरेको छ । उक्त कार्यालयले यातायात व्यवस्थापनसम्बन्धी नीति, नियम र मापदण्ड बनाउने, अन्तरप्रदेशीय यातायातको रुट इजाजत दिने, लामो रुटको गाडीको स्तर कायम गर्ने, इम्बोस्ड नम्बर जोड्ने र प्रदूषण जाँच गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।