भरतपुरको पुलचोक–गोन्द्राङ सडकसहित २७ आयोजनामा रास्वपाले दबाब यात्रा गर्दै

काठमाडौं,४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्ता आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरिएको रास्वपाले जनाएको छ ।

कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटेवाल, प्रतिभा रावल र खुस्बु श्रेष्ठ रहेका छन् । रास्वपाले भरतपुरमा पुलचोक–गोन्द्राङ सडक सहित २७ आयोजनालाई दबाब यात्रा गर्नुपर्ने सम्भावित सूचीमा राखेको छ ।

रास्वपाले आफ्नो पार्टी अभियान अन्तर्गत मिसन–८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान सुरु गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

अभियानको सुरुवातमा नारायणगढ–बुटवल दबाब यात्रा गरिएको थियो । बैठकले सो अभियानलाई निरन्तरता दिने निर्णय गर्दै थप २७ आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निष्कर्ष निकालेको उनको भनाइ छ । प्रारम्भिक चरणमा १७ आयोजनालाई प्राथमिकताको सूचीमा राखिएको र आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको संभावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न कार्यदल गठन गर्ने उनको भनाइ छ ।