पर्यटकको पर्खाइमा चितवनबासी, खुल्यो दर्जनौ होमस्टे

चितवन,५ माघ । चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ को घोषणा गरेसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र सँस्कृति प्रस्तुती देखाउन भरतपुरबासी तयारी अवस्थामा रहेका छन ।

भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुहरुको उचित भण्डारण गरी राखेका छन् । भरतपुर–२४ का स्थानीय नविन श्रेष्ठले पर्यटकलाई कोदोको र फापरको रोटी, गहतको दाल र पिडालुको तरकारी पस्कन खाद्ययान्नलाई प्रशोधन गरी भण्डार गरेको बताएका छन ।

यस्तै भरतपुर २८ गोलाघाटका सानु चौधरीले ३ सय वटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिनुभयो । चौधरीले एक दिनमा १०० जना पर्यटकलाई पुग्ने गरी घुंगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको बताएका छन । भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय दर्जनौ होमस्टेहरु खुलेका छन् ।

दर्जनौ होमस्टे थप भएसँगै महानगरको मेघौली गोलाघाट, पटिहानी जगतपुर लगायतका पर्यटक गन्तव्यमा करिब २०० बेड क्षमताको होमस्टेमा आवसको सुविधा रहेको छ ।

भरतपुर महानगरपालिकामा दैनिक ७ हजार पर्यटकलाई आवस सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोट र सौरहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्याङक छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जीप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाई जंगल सरफारी हुने अनुमानका साथ जीप सफारी गाडी थप गरिएको हो ।

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लहाकार विश्वराज सुवेदीले यस अघि एक दर्जनमात्र जीप सरफारी रहेकोमा अहिले तेब्बर जीपहरु थप गरिएको बताएका छन ।

जीप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसराबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । भरतपुरका राप्ती र नारायणी नदीको तटिय क्षेत्रमा बनेका होटलहरुले आफ्नै जीप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जीप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ ।

कसराबाट १ घण्टादेखि ४ घण्टासम्म जीप सफारीको प्याकेज रहेको छ । यस्तै राप्ती तथा नारायणीमा डुङ्गा थप गर्ने तयारी पनि भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिएका छन ।