राष्ट्रिय मावि कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै

चितवन,६ माघ । भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै छ । स्थापनाको ५० वर्ष नाघेको अवसरमा विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको हो । माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउन लागिएको बारे विद्यालयले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

स्वर्ण महोत्सवबाट एक करोड १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक राजेन्द्रमणी काफ्लेले बताए । त्यसमध्ये ८५ लाख रुपैयाँ विद्यार्थी सहयोग कोषमा राखिने उनले बताए । विद्यार्थी सहयोग कोष स्थापना गरी कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई सहयोग गर्ने मुख्य उद्धेश्य रहेको उनले जानकारी दिए ।

त्यस्तै, विद्यालय स्थापना देखि हालसम्म विद्यालयलाई सहयोग पु¥याउने दाता एवम् सरोकारवालालाई सम्मान गर्ने र कक्षा कोठामा आईसिटीको प्रयोग सहितको अंग्रेजी माध्यमबाट पठनपाठनका साथै कक्षा ६ देखि १० सम्ममा कम्प्युटर विषयको अध्यापनलाई निरन्तरता दिने र समग्रमा गुणस्तरीय एवम् प्रविधियुक्त समावेशी नुमना विद्यालय निर्माण गर्ने स्वर्ण महोत्सवको उद्धेश्य रहेका छन् ।

स्वर्ण महोत्सव अन्तर्गत माघ २४ गते मोटरसाइकल ¥यालीको आयोजना गरिने उनले जानकारी दिए । त्यस्तै माघ २५ गते शोभायात्रा, आर्थिक सहयोग स्व घोषणा कार्यक्रम र महोत्सवको उद्घाटन कार्यक्रम गरिनेछ । माघ २६ गतेदेखि फागुन १ गतेसम्म आर्थिक सहयोग स्व घोषणा, सम्मान कार्यक्रम, लोक सांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रस्तुती लगायतका कार्यक्रम राखिएको छ ।

फागुन २ गते स्वर्ण महोत्सव समारोहका औपचारीक कार्यक्रम, प्रधानाध्यापकको प्रतिवेदन, सम्मान कार्यक्रम, जलपान र महोत्सव समापन हुने काफ्लेले बताए । कृष्णपुर मावि २०२३ साल फागुन २ गते श्रीपञ्चमीका दिन स्थापना भएको हो । भरतपुर–७ का वडाध्यक्ष समेत रहेका काफ्लेले भरतपुर–७ का जनप्रतिनिधिको तर्फबाट विद्यालयलाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

कोरोना महामारी, विद्यालयको भौतिक संरचना लगायत विविध कारणले गर्दा स्वर्ण महोत्सव केहि पछाडि धकेलिएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद न्यौपानेले बताए । विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दै लगेकाले विद्यार्थीको संख्या समेत बढ्दै गएको बताए । कृष्णपुर माविमा हाल ४६५ जना विद्यार्थी अध्ययनरत छन् ।

पत्रकार सम्मेलनकाे दिन विभिन्न दाताहरूले गरी २६ लाख ५९ हजार ४०२ रूपैयाँ विद्यालयलाई नगद तथा चन्दाकाे स्व:घोषणा गरिएकाे छ ।