चितवनमा ग्लोबल रिचको एजुकेशन फेयर, ४५० भन्दा बढीको सहभागिता

चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिच चितवनले शनिवार आफ्नो नयाँ कार्यालय भवन रोटरी भवन, भटभटेनीमा ‘अस्ट्रेलिया एजुकेसन फेयर’ सम्पन्न गरेको छ । अस्ट्रेलिया जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस फेयरमा ४५० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

फेयरमा अस्ट्रेलियाका ११ वटा विश्वविद्यालय तथा कलेजहरूका प्रतिनिधिहरू सहभागी भई विद्यार्थीहरूसँग भेटघाट गरी आवश्यक जानकारी एवं परामर्श दिएका थिए । यस अवसरमा उनीहरूले नयाँ शिक्षा नीति, विषय छनोट, छात्रवृत्ति, रोजगारी, आवश्यक कागजपत्र लगायतका विषयमा जानकारी दिएका थिए ।

ग्लोबल रिच चितवनका प्रबन्धक सुरेश पौडेलका अनुसार फेयरबाट प्लस टु, ब्याचलर र मास्टर्स उत्तीर्ण गरेका तथा पिएचडी गर्न चाहने विद्यार्थीहरूलाई धेरै फाइदा पुगेको छ । उहाँका अनुसार फेयरमा चितवन, नवलपरासी, मकवानपुरबाट आएका विद्यार्थी र अभिभावकहरू सहभागी भएका थिए । यस फेयर १० बजेदेखि सुरु भई अपराह्न ३ बजेसम्म चलेको थियो । ग्लोबल रिचले २००७ मा काठमाडौँमा स्थापना भएपछि २०१३ मा चितवनमा पनि शाखा स्थापना गरी सेवा सञ्चालन गर्दै आएको छ । हाल नेपालमा मात्रै काठमाडौँ, चितवन, बुटवल र पोखरामा गरी ४ शाखा रहेका छन् ।

यसै गरी भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का लगायत देशमा पनि ग्लोबल रिचका ४२ वटा शाखाहरू सञ्चालनमा रहेको पौडेलले जानकारी दिनुभयो । यसरी ग्लोबल रिचले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक परामर्श र सहयोग प्रदान गर्दै आएको छ।