चनौलीमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन सम्पन्न

चनौली । भारतको अयोध्यामा बनेको राम मन्दिरमा भगवान् रामको प्राणप्रतिष्ठा भएको उपलक्ष्यमा भरतपुर महानगरपालिका १८ चनौली बजारमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन गरीएको छ ।

सोमबार धार्मीक व्यक्तित्व, स्थानीयबासी, समाजसेवीहरुको उपस्थितिमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन गरीएको हो ।

यसैबिच भारतको अयोध्यामा बनेको राम मन्दिरमा विश्वकै ध्यान तान्ने गरी आज भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । अर्थात् भगवान् रामको प्राणलाई मूर्तिमा सारिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको निर्माण र प्राणप्रतिष्ठालाई भारतीय इतिहासकै सर्वोच्च दिनको रूपमा व्याख्या गर्दै सयौँ वर्षको प्रतिक्षा र धैर्यतापछि आजको दिन आएको पनि उल्लेख गर्नुभयो ।

मन्दिर बनाउन १८ अर्ब भारु खर्च भएकोमा सरकारले जम्मा १ अर्ब मात्रै बजेट दियो, बाँकी चन्दा र सहयोगबाटै जुट्यो । मन्दिरका लागि अर्बौँ रुपैयाँ, कयौँ क्विन्टल सुन चाँदी सबै दानबाट आएको छ, यति धेरै पैसा उठ्यो कि, ‘अब सहयोग नगर्नुहोस्’ भनेर घोषणा नै गर्नुपर्‍यो । मन्दिरको पूरै क्षेत्र १ सय १२ बिघा क्षेत्रमा फैलिएको छ ।

अहिले भव्य मन्दिर बनाएको ठाउँमा सन् १९९२ अर्थात् ३२ वर्ष पहिले भव्य बाबरी मस्जिद थियो । यो मस्जिद १६ औँ शताब्दीमा बनेको मानिन्छ । मस्जिदमा तोडफोड हुनुअघि हिन्दुहरूले यो ठाउँलाई भगवान् रामको जन्मस्थान भनेर दाबी गरेका थिए । तर मुस्लिमहरूको पनि आफ्नै दाबी छ ।