गोली हानी गैँडा मारेको आरोपमा एक जना पक्राउ

चितवन,११ माघ । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेका छन् ।

बोहोरालाई तीन वर्षपछि पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलबाट पक्राउ गरिएको थियो । वि.सं.२०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र वि.सं.२०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानी मारेर खाग काटी लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

ती घटनामा बोहोरासहित अन्य २४ जना प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् भने अन्य तीन जना फरार रहेका छन् । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको उहाँले बताउनुभयो । – रासस