मैयाँदेवी स्‍मृति महिला यु १९ क्रिकेटमा गण्डकी र सुदुरपश्चिम विजयी

चितवन,१३ माघ । मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातर दोस्रो जित निकालेको छ । गण्डकीले आज (शनिबार) भएको आफ्नो दोस्रो खेलमा कोशी प्रदेशविरुद्ध ७ विकेटको फराकिलो जित निकालेको हो ।

कोशीले यस अघि शुक्रबार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध पनि ७ विकेटको जित निकालेको थियो। चितवनको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा १२ ओभरमा घटाईएको खेलमा कोशीले दिएको ५९ रनको लक्ष्य गण्डकीले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

गण्डकीको जितमा सीमाना केसीले नटआउट २३ रनको योगदान गरिन् । ३२ बल खेलेकी सीमानाले एक छाक्कासहित २३ रन बनाईन् । ज्योत्सनिका मरासिनी १८ बलमा २१ रन बनाएर आउट भईन् । ज्योत्सनिकाले ३ चौका प्रहार गरिन् । कप्तान कुसुम गोदार ५ रनमा नटआउट रहिन् । कोशीकी भवानी कमातीले ३ ओभरमा ९ रन खर्चिदै २ विकेट लिईन् । रिया शर्माले एक विकेट हात पारिन् ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १२ ओभरमा ३ विकेटको नोक्सानीमा ५८ रन बनाएको थियो । कोशीकी पुर्णिमा राजवंशीले १५ रन बनाईन् । अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेकन् । कोशीले २६ अतिरिक्त रन पाएको थियो । गण्डकीकी कप्तान कुसुम गोदार, निरुता जिटी र आकृति तिवारीले एक-एक विकेट हात पारे । नटआउट २३ रन बनाएकी गण्डकीकी सीमाना प्लेयर अफ दि म्याच भईन् ।

उता आजकै अर्को खेलमा सुदुरपश्चिमले जित हात पारेको छ । सुदुरपश्चिमले मधेश प्रदेशलाई पराजित गरेको हो । जारी प्रतियोगितामा दुई खेल खेलेको सुदुरपश्चिमको यो पहिलो जित हो । सुदुरपश्चिम पहिलो खेलमा गण्डकीसँग पराजित भएको थियो । मधेसको भने यो पहिलो खेल हो ।

पहिलो जित निकाल्ने क्रममा सुदुरपश्चिमले मधेसलाई ६ विकेटले निराश बनायो । मधेसले दिएको एक सय ३ रनको लक्ष्य सुदुरपश्चिमले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । सुदुरपश्चिमको जितमा सावित्री धामीले नटआउट ४३ रन बनाईन् । ४४ बल खेलेकी सावित्रीले ६ चौका प्रहार गरिन् । ओपनर नीलम पाण्ड्याले ४० बलमा २२ रन बनाईन् । मधेसकी मीना महतोले २ तथा प्रतिमा शाहले एक विकेट लिए ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५ रन बनाएको थियो । मधेसका लागि ओपनर साना प्रविनले सर्वाधिक ३४ रन बनाईन् । ४९ बल खेलेकी सानाले ४ चौका प्रहार गरिन् । एलिसा यादवले २९ बलमा २३ तथा अर्की ओपनर सीमा कुवँरले २० बलमा १२ रन जोडिन् । सुदुरपश्चिमकी अनु कडायतले २ तथा कारिश्मा थापा र स्नेहा महराले एक-एक विकेट लिए ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९:३० बजे कर्णाली प्रदेश र बागमती प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १:३० बजे मधेस कोशीबीच हुनेछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा ७ टोली सहभागी छन् ।

ताजा समाचार