भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको काम सुरु, प्रमुख दाहालले गरिन् शिलान्यास

चितवन,१४ माघ । भरतपुर महानगरपालिकाको चार वटा वडा भएर बग्ने पुङ्गी खोला सौन्दर्यकरणको काम सुरु भएको छ ।

खोला सौन्दर्यकरण गर्ने आयोजनाको आज भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् । आयोजनाको शिलान्यास गर्दै दाहालले विभिन्न चरणमा गरी पुङ्गी खोला सौन्दर्यकरणको काम सम्पन्न गरिने बताइन् ।

भरतपुरको ११ नम्बर वडाबाट सुरु हुने पुङ्गी खोला २ र ३ नम्बर वडा हुँदै भरतपुर–३ र ४ को सिमानाबाट नारायणी नदीमा मिसिएको छ । यो खोलाको कुल लम्बाई करिब ६ किमी रहेको छ । पहिलो चरणमा ३५५ मिटरमा खोलाको दुवैतर्फ पर्खाल उठाएर विरुवा सहितको फुटपाथ बनाइने दाहालले बताइन् ।

खोला सौन्दर्यकरणको लागि तीन करोड ९७ लाख ७४ हजार रुपैयाँ अनुमान लागतको ठेक्का आह्वान भएको थियो । पहिलो चरणमा दुई करोड ४९ लाख ६९ हजार रुपैयाँमा खोला सौन्दर्यकरणको काम गर्न टिएसएन÷गिरवान जेभीले ठेक्का पाएको हो । आगामी २०८१ मंसिर २० गतेसम्ममा यो ठेक्काको काम सम्पन्न गर्नुपर्ने छ । बाँकी रकमको पनि काम गर्न अर्काे ठेक्का आह्वान गरिने दाहालले बताइन् ।

आगामी आर्थिक वर्षमा पनि पुङ्गी खोला सौन्दर्यकरणको आयोजनालाई अगाडि बढाउन संघीय सरकारसँग बजेट माग गरिने उनले जानकारी दिइन् । छ किमीको खोलामध्ये पाँच किमीमा सिमांकनको काम सम्पन्न भइसकेको छ भने एक किमीमा अझै सिमांकन हुन बाँकी छ । निर्माणसँगै सिमांकनको काम पनि सकिने दाहालले बताइन् । त्यस्तै, केरुंगा खोलामा पनि सौन्दर्यकरणको लागि केहि दिनमै शिलान्यास गरिने उनको भनाइ छ ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले संघ र महानगरको बजेटमा खोला सौन्दर्यकरणको काम हुन लागेको बताए । शिलान्यास कार्यक्रममा भरतपुर–११ का अध्यक्ष कमलबहादुर मल्ल, २ का अध्यक्ष मनोज रानाभाट, ३ का अध्यक्ष विकास थापा, ४ का अध्यक्ष अर्पण पोखरेल लगायत सहभागी थिए ।