‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत बालबालिकालाई न्यानो कपडा वितरण

पुनम मगर शशिनगर,१६ माघ । भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने  योजनाहरू रहेको बताउनु भयो ।

महानगर भित्रका विद्यालयलाई विद्यालय भवन,रङ्ग रोगन,फल सिलिङ,जस्तापाता लगायतका काम सँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू सँगै विभिन्न प्रविधि मैत्री शिक्षा लाई ध्यानमा राख्दै पठनपाठनको गुणस्तरलाई महानगरले जोड दिएको बताउनु हुँदै विद्यार्थी लाई अहिलेको परिबेसलाई सुहाउँदो  व्यवहारिक शिक्षामा जोडिनका निम्ति व्यवहारिक शुक्रवारको नीतिलाई महानगरले अगाडि सारेको समेत उहाँले जनाउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकमान गुरुङको सभाध्यक्षयतामा विद्यालयमा न्यानो कपडा वितरण गरिएको हो ।यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरले काम गरी रहेको छ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसअघि चार वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको महानगरले जनाएको छ ।