रवि लामिछानेले भरतपुरको ‘पुल्चोक-गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने

चितवन,१८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने भएको छ ।

सडक निर्माणको काम समयमै सम्पन्न गराउनका लागि रास्वपा सभापति तथा चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेको उपस्थितिमा दबाब यात्रा गर्न लागिएको हो । दबाब यात्रामा रास्वपाका केन्द्रीय सदस्य र विभागिय पदाधिकारी समेत सहभागि हुनेछन ।

रास्वपाले २१ माघदेखि विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने तयारी गरेको छ । २१ माघमा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु सहभागी हुनेछन् ।

२२ माघदेखि संसद अधिवेशन सुरु हुने भएकाले रास्वपाले अरु आयोजनाको दबाब यात्राको मिति भने तोकेको छैन । तर दबाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम भने रास्वपाले टुंग्याएको छ । मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

रास्वपाले एक प्रदेशमा तीन वटा पर्ने गरी दबाब यात्रा गर्ने आयोजना छनोट गरेको छ । रास्वपाले यसअघि पुसको दोस्रो साता नारायणगढ–बुटवल सडक खण्डमा दबाब यात्रा गरेको थियो ।

ताजा समाचार