भिमनगर माविले मनायो ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस, १७ जना शिक्षक पुरस्कृत

महेन्द्र महतो चितवन,१८ माघ । भरतपुर महानगरपालिका २० मा रहेको भिमनगर माध्यमिक विद्यालयले ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । बाग्मती प्रदेश सभा सदस्य गीता गुरुङको प्रमुख आतिथ्यता एवम् व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र गुरुङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि गुरुङले बालबालिकाको पहिले विद्यालय घर भएको बताउनु हुँदै सबै विद्यार्थीलाई शिक्षा आवश्यक रहेको बताउनु भयो । विद्यालयमा शिक्षकहरू अभिभावक हुन त्यसैले शिक्षकले शैक्षिक अभिभावकत्व ग्रहण गरी विद्यार्थीलाई उन्नतिको लागि अगाडी बढाउन उहाँले आग्रह गर्नुभयो ।

यस्तै,कार्यक्रमका विशिष्ट अतिथि चितवन शैक्षिक प्रशासन महाशाखाका अधिकृत दीपक सिग्देलले भरतपुर महानगरपालिकाको मध्य भागमा रहेको भिमनगर मा।वि मा प्राविधिक, बाली विज्ञान सञ्चालन भएको बताउनु भयो ।

उहाँले महानगरले विद्यालयको विकास र शैक्षिक उन्नतिको लागि भवन निर्माण, विद्यालयको रौगन, छानो भएको विद्यालयमा फल सिलिङ, शैक्षिक सामाग्री र ल्याबहरूको व्यवस्थापन गर्ने कार्य गरेको बताउनु भयो ।

कार्यक्रममा १९ वटा अक्षय कोषबाट विभिन्न विधामा ५९ जना छात्र/छात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो । यस्तै आज मात्रै २ अक्षय कोष थपिएको छ यो सँगै विद्यालयमा २१ वटा अक्षय कोष पुगेको छ । कार्यक्रममा आफ्नो विषयमा शत प्रतिशत नतिजा ल्याउने १६ जना शिक्षक पुरस्कृत हुनु भएको छ भने उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक कल्पना ढकाल पुरस्कृत हुनुभएको छ । हाल विद्यालयमा ६९५ जना विद्यार्थी रहेका छन्  ।

कार्यक्रममा विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा न. २० का वडाध्यक्ष मुक्ति प्रसाद घले, शिक्षा विभाग तथा समन्वय इकाई चितवनका भूमिलाल सुबेदी, नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति तथा पूर्व व्यवस्थापक समितिका अध्यक्ष ओम प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।