सेनाको संरचना हटाएर भरतपुर विमानस्थल बिस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय

चितवन,१८ माघ । सेनाको संरचना हटाएर भरतपुर विमानस्थल बिस्तार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यो सगैँ सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेसँगै विमानस्थल विस्तारको बाटो खुलेको छ । संस्कृति तथा पर्यटन मन्त्री सु्दन किराँतीको स्वकीय सचिव राजन राईका अनुसार भरतपुर विमानस्थल विस्तारको बाटो खोल्न मन्त्रिपरिषद्ले सो निर्णय गरेको जानकारी दिए । उनले भने, ‘सरकारले घोडाको नयाँ ब्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्बाट  निर्णय भएको छ ।’

भरतपुर विमानस्थल बिस्तारबारे लामो समय छलफल भए पनि टुंगिन सकेको थिएन । करिब १ वर्षअघि नै नयाँ टर्मिनल भवन शिलन्यास गरेर काम अघि बढे पनि सेनाको संरचना नहटाइँदा धावनमार्ग बिस्तार रोकिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाका केही संरचना हटाउन सेनासँगै सरकारसँग समन्वय गरिरहेको थियो ।मन्त्रिपरिषद् बैठकले तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र लगायत संरचना छन् । ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनु पर्नेछ।

विमानस्थल विस्तार हुँदा ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । यसको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत चैतमा नयाँ टर्मिनल भवन शिलान्यास गर्दै १–२ दिनभित्र नेपाली सेनासँग जग्गा लिई विस्तार सुरु हुने दाबी गरेका थिए । करिब १ वर्षपछि धावनमार्ग विस्तार हुने बताइएको थियो ।