वैदेशिक रोजगारीमा जानेमा चितवन अगाडि

चितवन,२५ माघ । चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या अन्य जिल्लाको भन्दा बढी देखिएको छ । वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमले सार्वजनिक गरेको तथ्यांक अनुसार चितवन बागमती प्रदेशमै अगाडि देखिएको हो ।

एकै बर्षमा १५ हजार ८ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । अझ यो भन्दाबढी श्रम स्वीकृत नलिई विदेश जानेको संख्या उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सुर्यप्रसाद पौडेलले बताए ।  उनका अनुसार, भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार ५ सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।

आर्थिक बर्ष २०७९/२०८० मा नेपालबाट ७ लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्यांकमा रहेको छ । त्यसमध्ये बागमती प्रदेशबाट मात्रै १ लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८२३ जना छन् । धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको पौडेलले जानकारी दिए । यहाँबाट आघिल्लो आर्थिक बर्षमा ११६१ जनाले राहदानी बनाएका थिए ।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ६ हजार ५६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै माडी नगरपालिकाबाट २ हजार १२७, इच्छाकामना गाउँपालिकाबाट १ हजार ८, रत्ननगर नगरपालिकाबाट १ हजार ४७१, कालिका नगरपालिकाबाट १ हजार ६७९, खैरहनी नगरपालिकाबाट १ हजार ६०८ र राप्ती नगरपालिबाट १ सय २९१ जनाले श्रम स्वीकृत लिएका छन् ।

बागमती प्रदेशमा दोस्रोमा मकवानपुर जिल्ला रहेको छ । यस जिल्लाबाट गत आर्थिक बर्ष १३ हजार १०१ जनाले श्रमस्वीकृत लिएका छन् । वागमती प्रदेशमा सबैभन्दा कम वैदेशिक रोजगारीमा जाने जिल्लामा रसुवा देखिएको छ । यहाँबाट १ हजार ३९२ जनाले गत आर्थिक बर्ष श्रम स्वीकृत लिएका छन् । त्यस्तै धादिङबाट १२ हजार ५४०, सिन्धुपाल्चोकबाट १२ हजार ३, काभ्रेबाट ११ हजार ९४८, सिन्धुलीबाट १० हजार ७६५, नुवाकोटबाट ९ हजार ९६६, काठमाण्डौँबाट ७ हजार ६८४, रामेछापबाट ७ हजार ५६२, दोलखाबाट ६ हजार ५६९, ललितपुरबाट ३ हजार ८९२, भक्तपुरबाट ३ हजार ६८५ जनाले श्रम स्वीकृति लिएको उनले जानकारी दिए ।
वैदेशिक रोजगारीमा गएका १ हजार ६३ जना श्रमीकले ज्यान गुमाएका छन् । त्यसमध्ये बागमती प्रदेशका १२५ जना छन् । त्यसमा पनि चितवनका २३ जना रहेको उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगी धन्दा पनि उतिकै मौलाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आर्थिक बर्षमा १३६ मुद्दा दायर भएका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको दलालले पैसा खाएर भागेको मुद्दा परेको थियो । वैदेशिक रोजगारीले सामाजिक वेमेल समेत बढाएको छ । स्वदेशमै रोजगारी सृजना गर्नका भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए ।