भरतपुरमा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै

चितवन,२५ माघ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।

भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।

भरतपुर–१८ की गीता अधिकारीका श्रीमान् लामो समययता विदेशमा श्रमिक हुनुहुन्छ । घरमा मुख्य जिम्मेवारी लिने मान्छे नहुँदा घरको जिम्मेवारी गीताको काँघमा परेको छ । उहाँले सबै जिम्मेवारी थेग्न सक्नुभएन र उहाँलाई मनोसमामाजिक समस्याले ग्रस्त बनाउन थाल्यो ।

गीताले भन्नुभयो, “श्रीमान् विदेश गएपछि घरमा बसेर काम गर्ने जाँगर केही हुन्थेन । घरमा कमाई नहुँदा सबै उहाँकै भरमा परिन्थ्यो ।” सामी कार्यक्रममा संलग्न भएपछि आफूमा धेरै परिवर्तन आएको उहाँले बताउनुभयो । “पहिला केही काम गर्न मन नलाग्ने, काम गरे पनि सफलता नहँुदा निकै निरास भएको थिएँ । अहिले घरमा बाख्रा, भैँसी पाल्नुका साथै किसानी गरेर परिवारको खर्च बचत गरेको छु ।”

गीताले श्रीमान्लाई अब यही बोलाएर व्यवसाय गर्ने सोच बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “काम गरे यहीँ पनि हुनेरहेछ । श्रीमान्लाई अब बोलाएर गाउँमा मिल खोल्ने योजना बुनेको छु । यो कार्यक्रम निकै प्रभावकारी छ । मलाई त यस कार्यक्रममा जाँदा माइत गएको जस्तो अनुभव हुन्छ ।”

त्यसैगरी घरको चारजना विदेशमा श्रम गर्न हिँडेपछि भरतपुर–१६ निवासी शोभा भुसाल सापकोटाको घर रित्तो भएको थियो । घरमा काम गर्नेहरू विदेश भएपछि उहाँको परिवार पूर्णतया विदेशको आम्दानीमा आश्रित भयो । घरमा भएका निष्क्रिय जीवन बिताउन थाले ।

अहिले भने सापकोटा यतिखेर आफ्नै घरको काममा व्यस्त र सक्रिय हुनुहुन्छ । उहाँले घरखर्च आफँैले कमाएर चलाउनुभएको छ । उहाँले भन्नुभयो, “आनन्दसँग बसेर पनि नहुँदो रहेछ । निस्क्रिय भएर बस्दा झन् समस्या हुने रहेछ । घरमा उपलब्ध हुँदाहुँदै पनि हरेक सामान हामी किनेर खाने अवस्थामा थियौँ, तर आजकाल त्यस्तो छैन ।” उहाँ आफ्नो खर्च र बालबालिकाको खर्चका लागि खेती किसानीको काम गर्दै आउनुभएको छ ।

विदेशबाट आएको पैसाले मात्रै घरखर्च चलाउँदा मानसिकरूपमा असर पर्दै गएको हुँदा सामी परियोजनाको मनोपरामर्शका कारण अहिले घरलाई चाहिने आवश्यक खर्च आफैँ जुटाउन थालेका सापकोटाले बताउनुभयो ।

भरतपुर–१६ कै सङ्गीता रेग्मी भट्टले पहिला–पहिला वैदेशिक रोजगारबाट आएको रकमले घरखर्च चल्ने भएपछि सबै काम भुल्दै गएको बताउनुभयो । घरम निष्क्रिय भएर बस्दा घरायसी समस्या उत्पन्न हुन थालेपछि मानसिकरूपमा पनि कमजोर हुनुभएको उहाँ अहिले त्यस्तो नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामी परियोजनामार्फत बचत गर्ने र आफूले पनि केही गर्नुपर्छ भन्ने भएपछि अहिले त्यस्तो समस्या छैन ।” बचत गर्ने बानीको विकास र मानसिकरूपमा हुने समस्या समाधानका लागि मनोपरामर्श तालिम आवश्यक रहेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारमा श्रीमान् रहेको समयमा मानसिक समस्या उत्पन्न भएर आत्महत्याको प्रयाससम्मको सोच बनाउनुभएकी भरतपुर–२५ की राधा खाती अहिले मानासिक र शारीरिकरूपमा स्वस्थ हुनुहुन्छ । श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि उहाँलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उहाँले गुनासो गर्दैगर्दा उहाँ निकै भावुक बन्नुभयो ।

यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको भए अहिले यो स्थानमा आउन नसक्ने खातीले बताउनुभयो । सामी परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उहाँले सुनाउनुभयो । परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि उहाँहरूको परिवारमा खुसीयाली छाएको उहाँले बताउनुभयो ।

भरतपुर–१७ की चन्द्रमाया दुरा अब वैदेशिक रोजगारमा रहनुभएका श्रीमान्लाई नेपालमा बोलाएर व्यवसाय गर्ने सोचमा हुनुहुन्छ । विगत सात वर्षदेखि वैदेशिक रोजगारका क्रममा कतारमा रहनुभएका उहाँका श्रीमान्लाई बोलाएर यही काम गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । श्रीमान विदेशमा हुँदा कमाएको पैसा केही वचत गरेर अहिले थोरै कुखुरा पालेको बताउँदै उहाँले अब श्रीमानलाई विदेश नपठाउने बताउनुभयो । उहाँले भन्नुभयो “परिवारको जिम्मेवारी उठाउने श्रीमान नहुँदा मानसिक रुपमा समस्या हुँदो रहेछ ।”

भरतपुर महानगरपालिकाभित्रका ९६ हजार घरधुरीमा ३३ हजार घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । एउटै घरबाट चार जनासम्म वैदेशिक रोजगारमा जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष भरतपुर महानगरपालिकाबाट मात्र छ हजारभन्दा बढी श्रम अनुमति लिएर रोजगारीका सिलसिलामा विदेश जाने गरेका छन् । गत आवमा मात्र भरतपुरबा छ हजार पाँच सय ६१ जनाले श्रम अनुमति लिएर रोजगारीमा गएका शर्माले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा रहेको समयमा अङ्गभङ्ग भए वा मृत्यु भएका परिवारका लागि अध्ययन खर्च र उपचारमा वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने विषयमा ज्ञान नहुँदा त्यसको सेवा लिन आउनेको सङ्ख्या कम रहेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ । – रासस