जिल्लाका समस्या समाधान गर्न पालिका प्रमुखहरुको प्रतिबद्धता

चितवन,२७ माघ । जिल्लाका सबै पालिकाबीच समन्वय गरेर अघि बढ्न पालिका प्रमुखले ऐक्यबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको सातौँ जिल्लासभामा पालिका प्रमुखले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

पछिल्लो समय वन, राष्ट्रिय निकुञ्ज, राजमार्ग र विद्युत्मा धेरै समस्या आएको भन्दै प्रमुखको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरी छलफल गर्नुपर्ने सभामा जनाइएको थियो । अहिले यी क्षेत्रमा देखिएका समस्या समाधानका लागि महानगर प्रमुखको नेतृत्वमा सबै पालिकाका प्रतिनिधिले प्रधानमन्त्रीलाई जानकारी गराई समस्या समाधानका लागि पहल गर्ने जनाएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न जिल्लासभामा पालिका प्रमुखले समग्र जिल्लाको विकासका लागि सबै पालिकाबीच भगिनी सम्बन्ध स्थापित गरी अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

महानगर प्रमुख रेनु दाहालले अहिलेको मुख्य समस्या दुग्ध उत्पादक किसानको रहेकाले यसलाई समाधान गर्न सबै पालिका मिलेर लाग्नुपर्ने बताउनुभयो । जिल्लामा गरिने अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै उहाँले अनुगमनका क्रममा देखिएका कुरा छलफल गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरले घोषणा गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई प्रभावकारीरुपमा सम्पन्न गर्न, विमानस्थल विस्तार, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलगायत काममा सबै पालिकाको साथ र सहयोग आवश्यक रहेको प्रमुख दाहालले बताउनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले चितवन राष्ट्रिय निकुञ्ज र पालिकाको बीचमा समन्वय हुन नसक्दा जनताले दुःख पाइरहेका बताउनुभयो । निकुञ्जसँग पालिकाको समन्वय प्रभावकारीरुपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाले राष्ट्रिय योजना आयोगमा चितवनका अतिआवश्यक भौतिक योजना निर्माणका लागि बजेट माग गर्न जरुरी रहेको बताउनुभयो । तीनै तहका सरकारले समन्वय गरी अतिआवश्यक योजना निर्माणमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र घोषणा भए पनि काम अघि बढ्न नसक्दा समस्या भएको बताउनुभयो । यो सञ्चालनका लागि सबै एक भएर दबाब दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

राप्ती नगरपालिका प्रमुख शमशेर लामाले जिल्लाको धारणा एउटै बनाएर अघि बढ्नसके विकास, निर्माणमा सहज हुने बताउनुभयो । पालिकामा समस्याको चाङ रहेको बताउँदै उहाँले यी समस्या समाधानका लागि सबै पालिकाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतोले हुलाकी सडकको स्तरोन्नति, निकुञ्जभित्रको सडकलगायत योजना बन्न नसक्दा माडीवासीले दुःख पाएका बताउनुभयो । इच्छाकामना गाउँपािलका प्रमुख दानबहादुर गुरुङले तीन तहका सरकारको समन्वय प्रभावकारीरुपमा हुन नसक्दा विकास निर्माणले गति लिन नसकेको बताउनुभयो । सङ्घ र प्रदेशका आयोजना आफ्नो ढङ्गले अघि बढाउँदा समस्या भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले अहिलेको विकासले देशमा रोजगारी सिर्जना, विभेदलाई न्यूनीकरण र वर्गीय सन्तुलन कायम गरिरहेको बताउनुभयो । दोस्रो जिल्ला समन्वय समिति गठनपछि यो समितिले हालसम्म २२ वटा बैठक बसेको उहाँले जानकारी दिनुभयो ।

ती बैठकले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गा अनधिकृतरुपमा कब्जा गरिएका ठाउँमा सोसम्बन्धी मुद्दाको फिराद दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको, मिर्गौला पीडितको समस्या समाधानका लागि छलफल गरिएको, इच्छाकामना गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयललाई सिफारिस गर्नेलगायत काम गरेको अधिकारीको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कल्पना काफ्ले सापकोटा, रत्ननगर नगरपालिका उपप्रमुख यादव पाठकलगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । – रासस