क्यानडाविरुद्ध नेपालको लगातार दोस्रो जित, सिरिजमा कब्जा

काठमाडौँ,२७ माघ । नेपालले क्यानडाविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो ।क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्बाधिक ८७ रन बनाएका थिए भने देव खनालले ७६ रन बनाएका थिए । त्यस्तै अनिल शाहले १९ बलमा ५० रन बनाउदै नेपालबाट सबैभन्दा कम बलमा अर्धशतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि असिफ सेखले २१ बलमा अर्धशतक बनाएको रेकर्ड थियो ।

त्यस्तै भीम सार्कीले २३, पवन सराफले १४, आसिफ सेखले १० रन बनाएर आउट भएका थिए भने कुशल मल्लले अविजित ९ र सोमपाल कामीले अविजित ९ रन बनाएका थिए ।

त्यसैगरी क्यानडाका बलरहर्ष ठाकेर र इश्वोरजोत सोहिले २-२ विकेट लिएका थिए भने साद बिन जाफर र दिलप्रित बाज्वाले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै २८५ रन बनाएको थियो ।

क्यानडाका लागि आरोन जोनसनले सर्बाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०-२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सुर्य तामाङ र पवन सराफले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले क्यानडाविरुद्धको ३ खेलको सिरिजमा २-० ले अगाडी रहेको छ र सिरिज जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी सोमबार हुने छ ।