भरतपुर कारागारका दुई सयभन्दा बढी कैदीबन्दी घरेलु उद्योगमा

भरतपुर,१ फागुन । कारागार भन्ने वित्तिकै विभिन्न अपराधमा संलग्न भएर सजाय काट्न पठाइने ठाउँको रुपमा लिने गरिन्छ । पछिल्लो समय जिल्ला कारागारमा रहेका कैदीबन्दीमध्ये दुई सयभन्दा बढी घरेलु उद्योगमा व्यस्त हुन थालेका छन् । यहाँ विभिन्न किसिमका सीपमूलक काममार्फत उनीहरु उद्योगमा लागेका हुन् ।

विशेष गरी लामो समयसम्मका लागि कैद सजय तोकिएका, घरको आर्थिक अवस्था कमजोर भएका कैदीबन्दी घरेलु उद्योगको काममा आकर्षित भएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार बत्ती कात्ने, मुढा बुन्ने, गलौँचाको काम, सिलाइ कटाइलगायत काममा उनीहरु व्यस्त छन् ।

कारागार कार्यालयमा रहेका सात सय ५५ कैदीबन्दीमध्ये ८० जनाले बाँसको मुढा बुन्ने, ८० ले गलैँचाको काम गर्ने गरेका ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार सिलाइकटाइमा सात, बत्ती कात्ने २०, खेलाउना बनाउनेमा एक जनाले काम गरिरहेका छन् ।

आन्तरिक प्रशासनअन्तर्गत विभिन्न काममा कारागारका कैदीबन्दी लाग्ने गरेका कार्यालयका सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ रहेका कैदीबन्दी कुनै न कुनै काममा व्यस्त रहने गरेका छन् ।” गलैँचाको तान ४२ वटा रहेको जानकारी दिँदै उहाँले यी तानमा काम गर्न इच्छु एक सय २० जनाले रोजगार पाउने उहाँले जानकारी दिनुभयो ।

कारागारभित्र काम गरेर कैदीले मासिक रु पाँच हजारदेखि १५ हजारसम्म कमाउने गरेको ढुङ्गानाको भनाइ थियो । कारागारभित्र घरेलु उद्योगबाहेक विभिन्न खेलकुदमा कैदीबन्दी सहभागी हुने गरेका उहाँले बताउनुभयो ।

कार्यालयका सूचना अधिकारी ढुङ्गानाका अनुसार यहाँ उत्पादित सामान जिल्लासहित काठमाडौँ, पोखरालगायत क्षेत्रमा बिक्रीका लागि पुग्ने गरेका छन् । कारागारबाट मासिक साधारण खालका चार सय र विशेष खालाका तीन सय मुढा बिक्री हुने गरेका छन् । यस्तै गलैँचा काठमाडौँका उद्योगले खरिद गरिरहेका उहाँले जानकारी दिनुभयो ।

कारागारमा काममा र खेलकुदमा कैदीबन्दी सहभागी हुँदा फुर्सदको सदुपयोग हुने, नकारात्मक सोचको अन्त्य हुने र आयआर्जनसँगै पछि समाजमा पुनःस्थापना हुन सहज हुने ढुङ्गानाको भनाइ थियो ।

कारागारका चौकीदार राम पुडासैनी (नाम थर परिवर्तित) ले काम गर्छु भन्नेले खाली बस्नु नपर्ने बताउनुभयो । उहाँका अनुसार विभिन्न सङ्घ संस्थाले यहाँ मनोपरामर्शको तालिम दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मनोपरामर्शले यहाँका कैदीबन्दीमा कामप्रति ऊर्जा थपेको छ ।”

यहाँ रहेका कैदीबन्दीलाई लक्षित गर्दै बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न सीपमूलक कार्यक्रममा सञ्चालनको तयारी गरिरहेको ढुङ्गानाले जानकारी दिनुभयो । कपाल काट्ने, हाउस वायरिङलगायत तालिम दिन लागिएको भन्दै यस्ता तालिमले कैदीबन्दीलाई पुनःस्थापनामा सहयोग पुग्ने उहाँले बताउनुभयो ।