पश्चिम चितवनका विद्यालयहरूले सम्पन्न गरे सरस्वती पूजा

महेन्द्र महतो चनौली,२ फागुन । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा चितवन सहित देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सम्पन्न भएको छ ।

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेका छन् । आजको दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास पनि रहेको छ ।

सरस्वतीको पूजाको अवसरमा पश्चिम चितवनका विभिन्न विद्यालय तथा कलेजहरूले पनि देवी सरस्वतीको पूजा आराधना गरी पूजा सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा न. २० मा रहेको जेनिथ इङ्ग्लिस बोर्डिङ स्कुल, भिमनगर मा.वि, वडा न. १८ मा रहेको गुञ्जनगर मा.वि, माध्यमिक विद्यालय शशिनगर, वडा न. १९ मा रहेको सहिद स्मारक कलेज, शारदा मा.वि, जनप्रिय पब्लिक बोर्डिङ स्कुल, न्यू भिजन एकेडेमी, वडा न. २७ मा रहेको जानकी मा.वि, नमुना इङ्ग्लिस बोर्डिङ स्कुल, वडा न. २८ मा रहेको साझापुर मा.वि लगायतका स्कुलहरूले धूमधामका साथ सरस्वतीको पूजा तथा साना नानीबाबुहरूलाई अक्षरारम्भ गराएको छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुज भएकी जसमध्ये पहिलो हातमा वाणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ ।ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।

facebook sharing button twitter sharing button

ताजा समाचार