अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हो । अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो ।
विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । फ्लू लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरिर दुख्ने खोकी लाग्ने लगायतका लक्ष्यण देखिने गरेको उहाँले बताउनुभयो । फ्लूको शङ्का लागेर रगतको परीक्षण गरेर प्रमाणित गर्ने गरेको उहाँको भनाइ छ ।
तातोपानी, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने, आराम गर्ने, चिसोबाट बच्ने, पौष्टिक तत्व सेवन गर्ने लगायतका उपाय अपनाएमा इन्फ्लूएन्जाबाट बच्न सकिने डा पौडेलले बताउनुभयो । सावधानीका लागि सामाजिक दुरी कायम गर्न सके उत्तम हुने उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हुँदा सावधानी अपनाउन उहाँको सुझाव छ । रासस