भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोसेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गर्नुभयो । “भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवद्र्धन गर्नेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ ।”

प्रधानमन्त्रीले गौरवका आयोजना चक्रपथ, छ लेनको सडक, तटबन्धन, सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भरतपुरले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताउनुभयो ।

“विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचीमा अग्रसर महानगरपालिका हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, सङ्ग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकी मार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधार छन् ।”

चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवद्र्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।”

अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृङ्खलाको दृश्यावलोकन एवं समथर तराईको भू-भागको दृश्यावलोकनलगायतका प्राकृतिक आकर्षण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिकस्थल, गढी, दरबार, सङ्ग्रहालय, पार्क, धार्मिकस्थल, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्य रहेको बताउनुभयो ।

पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको यो कदमको प्रशंसा गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको सङ्ख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत् प्रवद्र्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवद्र्धनमा एउटा ऐतिहासिक कदम हो ।” -राष्ट्रिय समाचार समिति (रासस)

ताजा समाचार